काठमाण्डु-राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण बुझाउनुपर्ने कर्मचारीलाई लक्षित गर्दै घरबाटै सेवा उपलब्ध गराउने नयाँ व्यवस्था सुरु गरेको छ ।
सम्पत्ति छानबिन आयोग २०८३ को सूचनाअनुसार एक महिनाभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने उपसचिव वा सोभन्दा माथिल्लो तहका बहालवाला तथा निवृत्त कर्मचारीलाई सहज सेवा दिन यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल का अनुसार लगातार सार्वजनिक बिदा परेका कारण देश तथा विदेशमा रहेका सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरबाटै सेवा सञ्चालनमा ल्याइएको हो ।
उनले सरकारको सूचना प्रविधिमैत्री सेवा प्रवाह नीतिअनुसार परम्परागत प्रणालीलाई क्रमश विधुतीय माध्यममा रूपान्तरण गर्दै लगिएको बताए ।
नयाँ व्यवस्थाअन्तर्गत तोकिएका कर्मचारीले सार्वजनिक बिदाका दिनसमेत घरबाटै कम्प्युटर तथा इन्टरनेटमार्फत सेवा सञ्चालन गर्नेछन् । सेवाग्राहीले मोबाइल फोनमार्फत आवश्यक सेवा लिन सक्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
राष्ट्रिय किताबखानाका अनुसार २०८३ जेठ १४ गतेदेखि लगातार चार दिनको सार्वजनिक बिदाका अवधिमा समेत यो सेवा सञ्चालन गरिएको थियो ।
कार्यालयले विधुतीय हुलाक, ह्वाट्सएपलगायत डिजिटल माध्यम प्रयोग गरी बहालवाला तथा निवृत्त कर्मचारीलाई तलबी आम्दानीको निस्सा उपलब्ध गराउँदै आएको जनाएको छ । यस अभियानमा चार जना कर्मचारी स्वैच्छिक रूपमा सहभागी भएका छन् ।




प्रतिक्रिया