काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पहिलो पटक संघीय बजेट प्रस्तुत गर्दैछ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संसद्मा प्रस्ततु गर्दै छन्।
गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको रास्वपा सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो ।
बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ ।
नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार शुक्रबार दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो । सरोकारवाला निकायहरूको राय र सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ ।
चालू आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको थियो, जसलाई गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबर बनाएका थिए ।




प्रतिक्रिया