काठमाण्डू – गत शुक्रबार शुक्रबार नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट–२०२६ मा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रियताको युग समाप्त भएको अभिव्यक्ति दिए ।
वाग्लेको अभिव्यक्तिलाई लिएर राजनीतिक, कूटनीतिक वृत्तमा बहस जारी छ । कसैले उनको अभिव्यक्तिलाई रास्वपाको शक्तिशाली सरकारले छिमेकी भारतसँगको सम्बन्धलाई पुन: परिभाषित गर्न चाहेको भन्दै सकारात्मक रूपमा लिएका छन् भने केही राजनीतिज्ञ, बुद्धिजीवी र कूटनीतिक मामिलाका जानकारहरूले भने यसलाई राष्ट्रियतामाथिको प्रहारका रूपमा अर्थ्याएका छन् ।
अर्थमन्त्री वाग्लेले अघिल्लो पुस्ताका नेपाली नेताहरूभन्दा आफूहरूले फरक ढंगले नेपाल–भारत सम्बन्ध अघि बढाउन चाहेको स्पष्ट संकेत गरेका थिए । ‘कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर त्यो युग अब सकिएको छ,’ वाग्लेले भनेका थिए ।
नेपाल र भारतबिच भौगोलिक निकटतासँगै गहिरो ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध रहेको भन्दै उनले अहिलेको पुस्ताले भारतको विरोधमा आधारित राजनीतिक नाराभन्दा रोजगारी, सुशासन, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय अवसरलाई प्राथमिकता दिने बताए । भारतको आर्थिक वृद्धिबाट नेपालले व्यापार, लगानी, पर्यटन र अन्य आर्थिक सहकार्यमा लाभ लिनुपर्छ भन्नेमा नयाँ सरकारको स्पष्ट दृष्टिकोण रहेको उनले बताए ।
आलोचकहरू भने भारतसँग आर्थिक तथा कूटनीतिक सम्बन्ध सुधार्नुपर्ने तर्क राख्नु र भारतीय भूमिमा गएर नेपालको आन्तरिक मामिलाबारे बोल्नुलाई सार्वभौमसत्तासम्बन्धी बुझाइमै समस्या रहेको रूपमा बुझेका छन् ।
अर्थमन्त्री वाग्लेको भनाइबारे हामीले २ वरिष्ठ कूटनीतिज्ञहरू भारतका लागि नेपाली पूर्वराजदूत दीपकुमार उपाध्याय र संयुक्त राज्य अमेरिकाका लागि पूर्वराजदूत डा. अर्जुन कार्कीको धारणा बुझ्ने कोसिस गरेका थियौं । यस प्रकरणमा २ पूर्वराजदूतले विपरीत धारणा राखेका छन् ।
भारतका लागि पूर्वराजदूत उपाध्यायले नेपाल–भारत सम्बन्धलाई कुनै मन्त्रीको अभिव्यक्तिको शब्दमा सीमित गर्न नहुने बताए ।
उनले मन्त्री वाग्लेको भनाइलाई लिएर बबण्डर मच्चाउने र ‘ट्रोल’ बनाउने प्रवृत्तिले मुलुकलाई फाइदा नगर्ने टिप्पणी गरे । उपाध्यायले नेपाली समाजलाई नकारात्मकताले नराम्ररी गाँजेको उल्लेख गर्दै जे विषयमा पनि नकारात्मकतालाई ‘हाइलाइट’ गर्ने प्रवृत्ति घातक रहेको बताए । ‘समाजमा हरेक विषयको सकारात्मक र नकारात्मक कोण हुन्छ । हाम्रोमा जे विषयलाई पनि नकारात्मक आँखाले मात्र हेर्ने र व्याख्या गर्ने समस्या छ । अर्थमन्त्रीको भनाइलाई लिएर बायस धारणा राख्न, बबण्डर मच्चाउन र ट्रोल बनाउन जरुरी छैन । बास्तवमा यो ‘नन इस्युलाई इस्यु’ बनाउने प्रयास हो । यसले राष्ट्रलाई फाइदा गर्दैन,’ उपाध्यायले काठमाण्डुपाटीसँग भने, ‘नेपाल–भारत सम्बन्धको कुरा गर्दा समग्रमा हाम्रो हितमा परिणाम निकाल्ने कुरामा जोड दिनुपर्छ । नेताहरूले पनि बोल्ने बेलामा विचार गर्नुपर्छ । कूटनीति हल्काफुल्का विषय होइन, यसमा पर्याप्त गाम्भीर्यता र चातुर्यता झल्किनुपर्छ ।’
उपाध्याय नेपालका वामपन्थीहरूले आफ्नो राजनीति टिकाउन परम्परागत रूपमा अमेरिका र भारतको विरोध गर्ने गरेको आरोप लगाउँछन् । यद्यपि अब उक्त तरिकाले काम नगर्ने तर्क उनको छ । ‘वामपन्थीहरूको साहित्यको सुरुआत र अन्त्य नै ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’को विरोध गरेर हुन्छ,’ उनी भन्छन्, ‘यो वामपन्थी राजनीतिमा प्रयोग गरिएको पुरानो फर्मुला हो । सायद अब त्यसले काम गर्दैन ।’
यद्यपि आफ्नो भनाइको अर्थ सोभरेन्टी (सार्वभौमसत्ता) मा सम्झौता गर्नुपर्छ भन्ने नभएको प्रष्टीकरण उपाध्यायको छ । नेपालको आन्तरिक मामिलाबारे विदेशीले देख्ने र सुन्ने गरी विवाद गर्ने तरिका अपनाइएकामा उपाध्यायलाई दु:ख लागेको छ । सरकार र इतर दुवै पक्षले सम्हालिएर कूटनीति सञ्चालनको विषयमा समान धारणा बनाउन जरुरी रहेकामा उनले जोड दिए ।
‘अर्थमन्त्री बौद्धिक मान्छे हुन् । बौद्धिक स्तरबाट आफ्ना विषय राख्दा कोकोहोलो मच्चाउन जरुरी छैन । भारतसँग सम्बन्ध सुधार गर्नैपर्छ । यदि यो नीतिले सम्बन्धमा सुधार आउन सक्यो भने म त स्यालुट गर्छु । शब्दशब्दमा गएर हेर्नुहुन्न,’ उनले भने, ‘विदेशीका अगाडि हामीले झगडा, विवाद र एकअर्काको भर्त्सना गर्नु राम्रो होइन । भित्रै कुरा गर्नुपर्छ, कूटनीति सञ्चालन गर्ने प्रमुख जिम्मेवारी सरकारको हो । कोही पार्टी, व्यक्ति, समूहलाई तुच्छ देखाउने काम सरकारले पनि गर्नुहुन्न ।’
तर उपाध्यायको भन्दा पूर्वराजदूत कार्कीको धारणा फरक छ । हाल एमाले सांसद समेत रहेका कार्कीले अर्थमन्त्रीको भनाइल अन्तर्राष्ट्रिय समुदायमा नेपालबारे राम्रो सन्देश नगएको बताए । उनले नेपालको राष्ट्रियताको विषयमा विदेशी भूमिमा गएर बोल्नु कुनै पनि अर्थमा ठीक नभएको तर्क गरे । अर्थमन्त्रीको भनाइ कूटनीतिक मर्यार्दाविपरीत रहेको आरोप कार्कीले लगाए । ‘नेपालको राष्ट्रियताबारे विदेशी भूमिमा उभिएर कुरा गर्नु ठीक होइन,’ कार्कीले काठमाण्डुपाटीसँग भने, ‘यो सरासर राष्ट्रहीत र कूटनीतिक मर्यादाविपरीत हो ।’


प्रतिक्रिया