युगका अपेक्षा पूरा गर्न राज्यसत्ताको चरित्र र आचरण बदल्नुपर्छः राष्ट्रपति पौडेल

युगका अपेक्षा पूरा गर्न राज्यसत्ताको चरित्र र आचरण बदल्नुपर्छः राष्ट्रपति पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा बोल्दै उनले लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताए । ‘अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन’, राष्ट्रपति पौडेलले भने।

गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए । ‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ’ , राष्ट्रपतिले भने ।

सामाजिक न्याय, विकास र समृद्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न आजका दिनले प्रेरणा दिने उनले विश्वास व्यक्त गरे ।

मुलुकमा उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनचाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको बताए।

उनले शासकीय सुधारका एक सय कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरे ।

ढिलासुस्ती, अनियमितता र बेथिति प्रमुख सत्रु भएको जनाउँदै राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई यीनै वेथितिले निराश नबनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताए । ‘जबसम्म प्रत्येक नागरिकका जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, राष्ट्रपतिले भने।

नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेको भन्दै उनले यसका लागि हाम्रा स्रोतको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताए । ‘आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सक्छौँ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो’ उनले भने ।

परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्रै पर्याप्त नहुने भन्दै राष्ट्रपतिले शासकीय चरित्रसँगै राजनीति, पार्टी र नेताको चरित्रलाई पनि बदल्नुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्ने धारणा राखे ।

‘हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्दछ, हाम्रा शासकीय संरचना र राज्यअङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ, हामीले सशासनको प्रत्याभूति दिनै पर्दछ’, राष्ट्रपतिले भने ।

राष्ट्रपति पौडेलले स्थानीय र प्रदेश सरकारले संविधानबमोजिमको जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै शासकीय व्यवस्थामा जनताका घरआँगनबाट सार्वभौमिकताको अभ्यास भइरहेको बताए ।