काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलाको शनिबार उद्घाटन गर्दै उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताए ।
सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पक्षबारे समीक्षा गर्दै सैद्धान्तिक मतभेद, व्यक्तिगत टकराव र सत्ता समीकरणका कारण बेलाबेलामा कम्युनिष्ट घटकहरूबिच विभाजन आउने गरेको उल्लेख गरे । उनले देश र जनताको हितमा काम गर्न विगतका टुटफुटबाट पाठ सिक्दै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सहसंयोजक नेपालले पार्टीको एकता महाधिवेशनअगावै वडादेखि प्रदेशसम्म तोकिएको समयमा सबै जनवर्गीय संगठनलाई भेला तथा अधिवेशन सम्पन्न गर्न निर्देशन समेत दिए ।
उनले सामाजिक रूपान्तरणका लागि महिला वर्गको सशक्तीकरण अपरिहार्य रहेको र त्यसमा पार्टी संगठन क्रियाशील रहेको विचार व्यक्त गरेका छन् ।
भेलाले केन्द्रीय समिति, सचिवालय, कार्यालय गठन गर्नुको साथै संयोजक र सहसंयोजक चयन गर्ने जनाइएको छ ।




प्रतिक्रिया