ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा शनिबार आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले चुनावी वाचापत्रअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएकाले जनतालाई गरेको वाचाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

महामन्त्री शाहले भने, ‘सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढाल्यो, त्यसअनुसार बजेटको व्यवस्था गरिएको छ । अब त्यसलाई विकासमा ढाल्नका लागि अगाडि बढिरहेको छ । हामीले सफा नियतका साथ काम गरिएका छौँ । जनतासँग गरेका वाचा पूरा गर्न पार्टी र सरकार प्रतिबद्ध छ ।’

उनले पार्टी राजनीतिमा २ किसिमका गुणको संघर्ष हुने गरेको भन्दै पार्टी र देशलाई माया गर्ने गुणलाई साथमा लिएर हिँड्नुपर्नेमा जोड दिए । पार्टीमा योगदान दिने र काम गरिरहने वर्गलाई नथाक्न आग्रह गर्दै महामन्त्री शाहले सबल पार्टीको माध्यममार्फत देश बनाउन लाग्नुपर्नेमा जोड दिए ।

उनले सबल पार्टी बनेमा कम्तीमा २–३ दशक देशको नेतृत्व गर्ने दाबी गर्दै त्यसैले पार्टी बलियो बनाउने बेला आएको बताए । महामन्त्री शाहले भने, ‘अहिले पार्टी निर्माण गर्ने बेला हो, यस अभियानमा योगदान दिनेलाई पार्टीले सोहीअनुसार अवसर दिन्छ । पार्टी महाधिवेशनमा होमिएको छ, चुस्त र बलियो संगठन बनाउन सबैले मेहनत गरौँ ।’