काठमाण्डु – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारतको राजधानी नयाँदिल्लीमा गएका सभापति लामिछाने मंगलबार विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन् ।
भेट भारत–नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा केन्द्रित रहेको र यी सम्बन्धहरूले विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
नयाँदिल्लीमा रास्वपाका सभापति लामिछाने तथा उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
उनले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा २ देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको छ ।

सभापति लमिछाने भाजपाका अध्यक्ष नबिनको निमन्त्रणामा ५ दिने भारत भ्रमणका लागि सोमबार भारत गएका हुन् । भ्रमणका क्रममा उनले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नेछन् ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य रहेका छन् ।




प्रतिक्रिया