लेबनान–इजरायल युद्धविराम घोषणा, हिजबुल्लाहका गतिविधि रोक्नुपर्ने सर्त

लेबनान–इजरायल युद्धविराम घोषणा, हिजबुल्लाहका गतिविधि रोक्नुपर्ने सर्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इजरायल र लेबनानले युद्धविराम कार्यान्वयनका लागि सहमति गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार यो सहमति इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले सबै प्रकारका आक्रमण पूर्ण रूपमा बन्द गर्ने लगायतका सर्तहरूमा आधारित छ।

अमेरिकाको मध्यस्थतामा वासिङ्टनमा सम्पन्न चौथो चरणको वार्तापछि भएको सहमतिअनुसार दक्षिणी लेबनानमा इजरायलको नियन्त्रणमा रहेको क्षेत्रबाट हिजबुल्लाहका सबै लडाकु हटाइनुपर्नेछ। उक्त क्षेत्र लितानी नदीदेखि इजरायली सीमासम्म फैलिएको छ।

अमेरिकी विदेश मन्त्रालयले लेबनानी सेनाले गैर–राज्य पक्षहरूको प्रभावबिना पूर्ण नियन्त्रण कायम गर्ने ‘पाइलट जोन’ स्थापना गर्न सहयोग गर्ने जनाएको छ। यद्यपि ती क्षेत्र कसरी सञ्चालन हुनेछन् भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन।

वक्तव्यमा इजरायल र लेबनानबीचको भविष्यको सम्बन्ध दुई सार्वभौम सरकारहरूले मात्र निर्धारण गर्ने र कुनै पनि राज्य वा गैर–राज्य पक्षले लेबनानको भविष्यलाई बन्धक बनाउन नपाउने उल्लेख गरिएको छ।

यो घोषणा सोमबार भएको आंशिक युद्धविरामपछि आएको हो। उक्त समझदारीअनुसार इजरायलले बेरुतमा व्यापक बमबारी नगर्ने र त्यसको बदलामा हिजबुल्लाहले इजरायलमाथि आक्रमण नगर्ने सहमति भएको लेबनानले जनाएको थियो।

यद्यपि यसै साता दुवै पक्षबाट आक्रमण जारी रहँदा युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार इजरायली आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको थियो। मृतकमध्ये दुई जना एम्बुलेन्समा रहेका स्वास्थ्यकर्मी थिए।

उता इजरायली सेनाले सीमा पार गरेर आएका एक ड्रोन र दुई प्रक्षेपास्त्र खसालेको जनाएको छ। हिजबुल्लाहले भने इजरायली सैनिकहरूको जमघटलाई निशाना बनाएको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानको द्वन्द्व र इरानसँगको सम्बन्धित तनावलाई अलग–अलग रूपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । तर तेहरानले यी सबै घटनाहरू आपसमा जोडिएको दाबी गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले बेरुतमा कुनै पनि आक्रमण भएमा युद्ध पुनः पूर्ण रूपमा सुरु हुने चेतावनी दिएका छन् ।