काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा संस्थागत अनुशासन कायम गर्ने प्रयासअन्तर्गत अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको जानकारी गराए ।
शिक्षा मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको छ । यससँगै थप प्राध्यापक पनि रकम फिर्ता गर्ने प्रक्रियामा सहभागी भइरहेको मन्त्री पोखरेलले उल्लेख गरे । मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी तथा अन्तरराष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरे ।
उनले सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त अवसरको उपयोगपछि सेवामा नफर्किने प्रवृत्तिका कारण विश्वविद्यालयले आर्थिक, शैक्षिक तथा नैतिक क्षति व्यहोर्दै आएको भन्दै विश्वविद्यालयको शाख गिराउने किसिमका यस्ता क्रियाकलाप आगामी दिनमा दोहोरिन नहुनेमा उनको जोड छ ।
मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्न त्रिविलाई प्रोत्साहित गरेको र त्यसपश्चात् गरिएको छानबिन तथा कानुनी प्रक्रियाका आधारमा रकम फिर्ता हुनेक्रम तीव्र बनेको मन्त्री पोखरेलले जानकारी दिए । उनले टीयूको उपलब्धि केबल आर्थिक रकम असुलीमा सीमित नभई सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने तथा उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदम रहेको बताए ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप मजबुत बनाउँदै सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आफ्नो प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे । अध्ययन विदाको दुरूपयोग गरी त्रिविलाई हानिनोक्सानी पुर्याएकोबारे सरकारले चासो लिएपछि अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेका छन् ।




प्रतिक्रिया