एसईईमा चिट चोर्न प्रयोग भएका १ करोड मूल्यका मोबाइल र ‘स्मार्ट वाच’ नष्ट

एसईईमा चिट चोर्न प्रयोग भएका १ करोड मूल्यका मोबाइल र ‘स्मार्ट वाच’ नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र ५ वटा स्मार्ट वाच नष्ट गरिएको छ ।

गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट ७ वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच बरामद गरिएको थियो । ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै बिहीबार नष्ट गरिएको हो ।

मधेश प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताएका थिए । सोही निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिरहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित ५ सदस्यीय उपसमिति गठन गरिएको थियो ।

उपसमिति संयोजक यादवका अनुसार बरामद गरिएका मोबाइल तथा स्मार्ट वाच जिल्ला प्रहरी कार्यालयमा २४ घण्टासम्म पानीमा राखिएको थियो । त्यसपछि थप प्रयोगयोग्य नहुने गरी नष्ट गरिएको उनले बताए ।

बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ । केही अभिभावक तथा सरोकार भएकाले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए । तर सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ ।

मधेश प्रदेशमा एसईई परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो संख्यामा नष्ट गरिएको पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।