काठमाण्डु- तीन वर्षसम्म ठिकठाक बोल्ने बालक पाँच वर्षको भयो तव उसको बोली स्पष्ट हुनुको साटो बोली नै हरायो । सुन्दा अचम्म लाग्ला तर काठमाण्डु वनस्थलीको एक दम्पत्ति आफ्नो बच्चामा आएको यस्ते समस्याका कारण तनावमा छ ।
बच्चाको उमेरअनुसार शरिरीक र मानसिक विकाससँगै बोलीको पनि विकास हुँदै जानुपर्नेमा मुखबाट शब्द नै हराउनु सन्तान र परिवारका सपना साँचेका अभिभावकका लागि निकै चिन्ताको विषय बन्ने नै भयो । त्यसपछिको उपचारको खोजीका लागि उनीहरुको दौडधुप र सास्तीको कथा अर्को छ ।
बालकको आमा (नाम नखुलाउने सर्तमा) सुनाउँछिन्, ‘म एक्लै घरमा, उसको बाबा पनि आर्मीमा हुनुहुन्छ गोरखामा । म पनि काममा जानुपर्ने, अनि बच्चाको हातमा मोबाइल राखिदिएर ढोकामा चावी लगाएर काममा निस्कन्थेँ । पहिला ३ वर्षमा राम्रोसँग बोल्ने भइसकेको थियो तर पछि एक्कासी बोल्न छोडयो ।
अहिले ५ वर्षको भयो केही पनि बोल्दैन । मोबाइल हेर्दा मोबाइल खोसिदियो भने पनि केही हलचलनै गर्दैन । न रुन्छ न हास्छ, कुनै रियाक्ट नै गर्दैन । बच्चाले आमा भन्दैन, टुलु टुलु मात्र हेर्छ । केही माग्न परे मेरो हात समातेर आफूलाई चाहेको चिजमा हात राखिदिन्छ ।’ अहिले आएर पश्चाताप गरिरहेकी उनी बच्चाको सुधार र उपचारमा लागेकी छिन् ।
आज धेरै अभिभावकहरुलाई विशेषतः सहरको भागदौडपूर्ण वाध्यात्मक जीवनशैलीबाट आफ्ना नानीबाबुका लागि समय निकाल्न कठिन बन्दै गएको छ । प्रविधिको पहुँचसँगै बालबालिकालाई खेलाउन होस या भुल्याउन मोबाइलको अधिकतम प्रयोग गर्ने अभिभावकहरु बढ्दो छ । झन टिकटक, रिलको यस समयमा केही महिनादेखिनै शिशुको भिडियो बनाउने, मोबाइलको झिलिमिली देखाएर भुलाउने प्रवृत्ति बढदो छ ।
यसमा धेरै अभिभावकले रमाइलो मानिरहेका छन् तर यसको असर कतिसम्म पर्छ भन्ने हेक्का राखेका हुँदैनन् । यसरी अभिभावक स्वयंले बालबालिकालाई स्क्रिनको लततिर धकेलिरहेका छन् । जब बालबालिका मोबाइलविना बस्न नसक्ने अवस्थामा पुग्छन् तब मात्र अभिभावकले आफनो टाउको समात्न थाल्छन् । यो समस्या समग्र परिवारको सामुहिक व्यवहारसँग जोडिएको विषय हो ।
डायसपोरा (बसाईँसराई)मा भएका नेपालीहरुको समस्या पनि उस्तै छ । शिक्षा र श्रमको लागि गएका विदेशिएका उनीहरुको आर्थिक आम्दानी र सन्ततिका लागि समय दिन बाध्य हुन्छन् । श्रीमान र श्रीमतीको कामको सिफ्ट मिलाएपनि उनीहरुमा आफनो बच्चालाई दिनपर्ने प्रयाप्त समय हुदैनन् ।
अष्ट्रेलियामा बस्ने अर्का अभिभावक (नाम नखुलाउने सर्तमा) को पिडा पनि उस्तै छ । बच्चा अहिले ६ वर्षको भयो । तर उनीसँग न अंग्रेजी न नेपाली दुवैमा बोल्नको लागि शब्दवलीहरु खासै छैन । कारण उस्तै, कामबाट फर्केपछि थकान, घरको खानपान, सरसफाई लगायत काममा व्यस्त हुनुपर्दा बच्चा भुल्याउने माध्यम मोबाइल र स्क्रिन । दैनिक आठ घण्टाजस्तो स्क्रिन टाइमको बच्चालाई लत बनायो ।
‘कामबाट आयो बच्चालाई मोबाइल दियो, घरको केही काम गरेर सुत्यो । बच्चा २ वर्षको हुँदाबाट मोबाइल दिन थालियो अनि बच्चाले खाली मोबाइल मात्र हेर्ने खोज्ने भयो, बोल्नै जानेन । उसको उमेरमा बोलिहाल्छ नि भन्ने भयो । अनि बोली कुर्दाकुर्दै छ वर्ष वितेको पत्तै भएन ।’ अहिले डाक्टरको सल्लाहअनुसार व्यवहार गरिरहेका उनीहरु सुनाउँछन्, ‘डक्टरलाई देखाउँदा भर्चुअल अटिजम भएको भन्नुभयो । अहिले पनि बच्चालाई मोबाइलविना राख्नै गाह्रो भइरहेको छ । मोबाइल दिएन भने लडीबुडी गरेर झगडा गर्छ । अहिले उसको थेरापी गरिरहेका त छौं, छिट्टै निको भने नहुँदो रहेछ ।’
बालबालिकाको सुरुवाती वर्ष मस्तिष्क विकासको लागि निकै महत्वपुर्ण मानिन्छ । यो समयमा उनीहरुले अरुलाई हेरेर, वरपर भएका कुराहरु देखेर, खेलेर सिकिरहेका हुन्छन् । धेरै भन्दा धेरै उनीहरुसँग बोलेर, हाँसेर खेलेर समय बिताउँदा उनीहरुको मानसिक शारिरीक तथा सामाजिक विकास छरितो हुन्छ ।
बालाजुकी ७८ वर्षीय इश्वरी श्रेष्ठ अहिलेको बालबच्चाको हुर्काइमा गुनासो गर्छन् । ‘हाम्रो पालामा कहाँ यस्तो थियो र ? बालबच्चाहरु के विधि मोबाइल चलाउने भाको । बुहारीले बच्चालाई दुई वर्षदेखि मोबाइल देखाएर खाना खुवाउन थालेको अहिले १४ वर्ष पुगिसक्यो बानी छुटेको छैन । हामीले त पहिला बच्चालाई चारतिर डुलाएर ‘को खाइ को खाइ’ गरेर फकाएर खुवाउँनेगर्थ्यौं । रातैभरि मोबाइल हेरेर आखाँको डिल कालो न कालो भइसक्यो । मोबाइल नहेर भन्यो भने झर्किन्छ, रिसाउँछ, चिडीन्छ ।’
किशोर किशोरीहरुमा सामाजिक सञ्जाल टिकटक इन्स्टाग्रामदेखि फ्रिफायरदेखि डिजिटल गेमप्रतिको मोहले गर्दा स्मार्टफोनबाट ध्यान हटाउन नसकेको अध्ययनहरुले देखाएको छ । स्मार्टफोनको अत्याधिक प्रयोगले अटिजम, डिप्रेसन, एन्जाइटीको जोखिमसँगै सुसाइडल थटको समस्या बढाउँदै गएको विज्ञहरु बताउँछन् ।
जर्नल पेडियाट्रिक्समा प्रकाशित अध्ययनले १२ वर्षभन्दा कम उमेरका बालबालिकाले स्मार्टफोनको प्रयोग गर्दा मानसिक स्वास्थ्य समस्या, मनोवैज्ञानिक असर डिप्रेसन र मोटोपनसँगै निन्द्रामा समस्या हुने देखाएको छ । १२ वर्षसम्म स्मार्टफोन प्रयोग गर्ने बालबालिका र नगर्ने बालबालिकाको मानसिक स्वास्थ्यमा निकै अन्तर पाइएको अध्ययनको निस्कर्ष छ ।
प्यु रिर्सच सेन्टरका अनुसार २०२४ मा १३ देखि १७ वर्ष उमेर समुहमा ९५ प्रतिशत किशोरहरुसँग स्मार्टफोन थियो । अब भने बालबालिका र किशोरहरुलाई स्मार्टफोनको प्रयोगका असरहरुबाट जोगाउने उपायहरु पहिचान गर्ने तर्फ लक्ष्य रहेको बताए ।
स्मार्टफोनको अत्याधिक प्रयोगबाट ध्यान हटाउनका लागि धेरै जसो पश्चिमेली देशहरुले स्मार्टफोन प्रयोगमा विभिन्न नियमकानुनलाई कडाईका साथ लागु गर्न निर्देशन दिइसकेको छ । अष्टेलियाले २०२५ को अन्त्यतिर १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित नै गरिसकेको छ भने ग्रीसले सन् २०२७ जनवरीदेखि १५ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । त्यस्तै स्पेनमा पनि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लागु गर्ने तयारीमा छ । मलेसिया र क्यानडामा भने १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध नै लगाइसकेको छ । बालसुरक्षालाई मध्यनजर गर्दै १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने नियम लागु गरेको हो ।
नेपालमा पनि डिजिटल पहुँच तीब्र विस्तार भइरहेको छ । हाल नेपालका करिब ८५.१ प्रतिशत घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच पुगेको छ । सुदुरपश्चिम प्रदेशको डडेल्धुरामा गरिएको एक अध्ययनअनुसार करिब ४९.७ प्रतिशत विद्यार्थीले दैनिक छ घण्टाभन्दा बढी समय स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । युनिसेफ र चाइल्ड सेफ नेटको प्रतिवेदनअनुसार ४७ प्रतिशत बालबालिकासँग आफनै स्मार्टफोन रहेको तथा ३४ प्रतिशत बालबालिकाको व्यक्तिगत सामाजिक सञ्जालको खाता रहेको पाइएको छ । प्रयोगकर्तामध्ये धेरैजसो १५ देखि १९ वर्ष उमेर समुहका किशोरकिशोरीहरु रहेका छन् ।
वर्तमान समाजमा मोबाइल आवश्यकता मात्र होइन अपरिहार्य ग्याजेट बनिसकेको छ । सूचना आदानप्रदान गर्नदेखि सामाजिक सञ्जालको सयरसम्म, किनमेल देखि बैंकिङ कारोबारसम्म मोबाइलको व्यापकता छँदैछ । लोकल टु ग्लोबल र ग्लोबल टु लोकलको सम्बन्ध सुत्रका लागि मोबाइल छरितो माध्यम हो । तर यही मोबाइल कसले कसरी प्रयोग गर्छ भन्ने सवालमा यसका जटिलताहरु पनि उत्तिकै छन् । यसमा बालबालिकाहरुमा मोबाइलको बढ्दो प्रयोग अहिले विश्वव्यापी चासो र चिन्ताको विषय बनेको छ । वयस्कहरुले आफ्ना नानीबाबु भुल्याउने सामाग्रीको एपमा मोबाइलको साहारा लिँदा भइरहेको प्रभाव वा असरको खास ख्याल गरिरहेका छैनो ।
आजको डिजिटल युगमा मोबाइल फोन बालबालिकाको दैनिकीको हिस्सा बनिसकेको छ। पढाइदेखि मनोरञ्जनसम्मका धेरै गतिविधि मोबाइलमार्फत हुने भएकाले बालबालिकालाई पूर्ण रूपमा मोबाइलबाट टाढा राख्न सम्भव छैन। तर यसको प्रयोग कसरी, कति समय र कुन उद्देश्यका लागि भइरहेको छ भन्ने विषयमा अभिभावक सचेत हुनुपर्ने विज्ञहरू बताउँछन्।
बाल स्वास्थ्य नर्स तथा वि एण्ड वि मेडिकल इन्सच्युटकी सहायक प्राध्यापक सरस्वती श्रेष्ठका अनुसार बालबालिकाले मोबाइल प्रयोग गर्नु नै गलत होइन, तर त्यसको सही व्यवस्थापन आवश्यक छ ।उनका अनुसार अभिभावकले बालबालिकाको मोबाइल प्रयोग गर्ने समय निर्धारण गर्नुका साथै उनीहरूले कस्तो सामग्री हेरिरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनुपर्छ ।’खाना खाने बेला, पढ्ने समय वा पारिवारिक जमघटका समयमा मोबाइलबाट टाढा राख्ने बानी बसाल्नुपर्छ,’ श्रेष्ठले बताइन्। ‘उनले बालबालिकालाई मोबाइलको विकल्प दिनुपर्नेमा जोड दिइन्। ‘यो काम सकेपछि केही समय मोबाइल चलाउन पाउँछौ भन्ने किसिमले सम्झाउन सकिन्छ,’ उनले भनिन्।
श्रेष्ठका अनुसार बालबालिकालाई मोबाइल नचलाउन भन्दै अभिभावक आफैं निरन्तर मोबाइलमा व्यस्त हुनु उचित होइन। बालबालिकाले परिवारकै व्यवहार अनुकरण गर्ने भएकाले अभिभावकले पनि आफ्ना बानीमा परिवर्तन ल्याउन आवश्यक हुन्छ।
उनले सुत्ने कोठालाई “मोबाइल फ्रि जोन” बनाउन सुझाव दिएकी छन्। साथै बालबालिकालाई बाहिरी वातावरणमा घुलमिल गराउने, खेलकुद तथा रचनात्मक गतिविधिमा सहभागी गराउने र उनीहरूसँग पर्याप्त समय बिताउने बानीले मोबाइलको अत्यधिक प्रयोग कम गर्न मद्दत गर्ने उनको भनाइ छ। विशेषज्ञहरूका अनुसार घरको वातावरणले पनि बालबालिकाको व्यवहारमा ठूलो प्रभाव पार्छ । घरमा तनाव, झगडा वा एक्लोपनको वातावरण भएमा बालबालिका मोबाइलमै बढी रमाउने सम्भावना हुन्छ।
त्यसैले अभिभावकले सुरुदेखि नै स्पष्ट नियम बनाउने, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र बालबालिकासँग खुला संवाद कायम राख्नुपर्ने आवश्यकता रहेको श्रेष्ठ बताउँछिन्।
मोबाइलको लत लागिसकेका बालबालिकालाई एकैपटक मोबाइल खोस्ने वा पूर्ण बन्देज लगाउने उपाय प्रभावकारी नहुने उनको भनाइ छ । “मोबाइल प्रयोग बिस्तारै घटाउँदै लैजानुपर्छ । अचानक रोक्दा बालबालिकामा अत्यधिक रिस, झगडा वा मानसिक तनाव बढ्न सक्छ र आफनै ज्यान लिनसक्ने जोखिम हुनसक्ने बताइन् ।
त्यसैले बालबालिकाको हरेक कृयाकलापमा अभिभावक नै आफै सम्मीलित हुनुपर्छ । आफ्नो बच्चासँग अन्तक्र्रिया गर्ने, खेल्ने, कुराकानी गर्ने, घुमाउन लैजाने, कथा सुनाउने जस्ता वैकल्पिक उपायहरुमा बालबालिकालाई संलग्न गराउँदा उनीहरुको सकारात्मक विकास हुने विज्ञहरुले बताएकाछन् ।




प्रतिक्रिया