१८ वर्षपछि व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न बटालालाई जन्म कैदको फैसला

१८ वर्षपछि व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न बटालालाई जन्म कैदको फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न गोविन्दबहादुर बटालालाई सर्वोच्च अदालतले १० वर्षको कैद सजाय सुनाएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले बटालालाई जन्म कैदको फैसला गरेको हो।

सफाई दिने आफ्नै फैसला पुनरावलोकन गर्दै सर्वोच्चले बटालालाई जन्म कैदको सजाय सुनाएको हो ।

बटालालाई जन्म कैदको सजाय तोके पनि मुलुकी ऐन बमोजिम १० वर्ष कैद भुक्तान गर्नु पर्ने ठहर गरेको छ। अर्का प्रतिवादी सवारी चालक अर्जुन कार्कीलाई भने सफाइ दिइएको छ।

२०७७ साउनमा सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बटालालाई सफाइ दिने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले पुनरावलोकनका लागि निवेदन दिएको थियो।

घटना १८ वर्षअघिको हो । माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमै सम्पर्क कार्यालय खोलेको थियो ।

सो कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्की लगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ।

२०६५ वैशाख १५ गते श्रेष्ठलाई काठमाण्डुबाट अपहरण गरी चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो। अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो।