कोशी प्रदेशसभा बैठकमा वार्षिक प्रतिवेदन पेस

कोशी प्रदेशसभा बैठकमा वार्षिक प्रतिवेदन पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सभाको शुक्रबारको बैठकमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रतिवेदन पेस गरेपछि सभामुख अम्बरबहादुर विष्टले आवश्यक छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउने जानकारी सदनलाई दिए ।

बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट राजन कार्कीले किमाथांका मार्गलाई व्यवस्थित गर्न सरकारसँग माग गरे । उनले किमाथांका सडक कोशी प्रदेशका निम्ति समृद्ध र विकासका आधार बन्ने भएकाले प्रदेश सरकारले उक्त मार्ग व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

तिब्बत र चीनसँग व्यापार विस्तार गर्न किमाथांका नाकासँगै भन्सार, अध्यागमन र क्वारेन्टाइन कार्यालयलाई व्यवस्थित गर्नुपर्ने भन्दै उनले नाका कोशी प्रदेशको विकासका लागि उत्तरी ढोका रहेका बताए ।

बैठकको शुन्य समयमा प्रदेशसभा सदस्य गोम्बू शेर्पाले आगामीमा आर्थिक वर्षको बजेट सरकारले कुनै पनि किसिमको त्रुटि गर्ने छुट नभएको बताए । सदस्य मीन श्रेष्ठले नेपाल–भारतको सीमामा हुने अवैध क्रियाकलापलाई रोक्न स्थानीय जनताले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

सदस्य किशोरचन्द्र दुलालले नेपाली जनता दिनप्रतिदिन महँगीको मारमा परिरहेकाले यसबाट जोगाउन सरकारले प्रभावकारी योजनासहित आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए । सदस्य गोपालबहादुर विश्वकर्माले आगामी बजेट जनता केन्द्रित बनाउन माग गरेका छन् ।

प्रदेश सभाको अर्को बैठक शनिबार अपराह्न ३:०० बजे बस्नेछ ।