काठमाण्डु–एमाले प्रमुख सचेतक ऐनबहादुर महरले बझाङबाट गत २१ फागुनको निर्वाचनमा आफूसँगको प्रतिस्पर्धामा पराजित भएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शैलेसकुमार सिंहमाथि सांघातीक आक्रमण भएकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा महरले रास्वपा नेता सिंह आफ्नै पार्टीको अर्को समूहद्वारा कैलालीको धनगढीमा कुटिएको बताए ।
उनका अनुसार रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनमा सहभागी भएर फर्कंदै गर्दा सिंहमाथि रास्वपाकै ७÷८ जनाको समूहले सोमबार आक्रमण गरेको हो ।
आक्रमणकारीले सिंहको साथबाट मोबाइल, घडी, ल्यापटप र सुनको सिक्रीसमेत लुटेर लगेको महरले बताए । उनले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरे ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट घर फर्कने क्रममा हिजो राति असार १ गते ७/८ जनाको समूहले धनगढीमा गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट बझाङ जिल्लामा उम्मेदवार बनी लोकप्रिय मत प्राप्त गरेका शैलेस सिंहमाथि योजनाबद्ध रुपमा सांघातीक आक्रमण भएको छ । आक्रमणकारीहरुले उहाँसँग भएका बहुमूल्य सामानहरु ल्यापटप, घडी, मोबाइल, सिक्रीजस्ता सामान लुटेका छन्, आक्रमण मात्रै गरेका छैनन्’,महरले भने, ‘अब के भनौं सभामुख महोदय, म उहाँलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दैै सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु आज रास्वपाकै नेतृत्वको सरकार छ, रास्वपाकै प्रदेश अधिवेशनबाट घर जाँदै गर्दा रास्वपाको एक जना जिम्मेवार नेता/कार्यकर्ता शैलेस सिंह जो मेरो बझाङ जिल्लाको हुनुहुन्छ । उहाँले सांघातीक आक्रमणको सामना गर्नुपरेको छ । यस्तो खालको दण्डहीनताको, अराजकताको यस्तो प्रकारको राज्य विहीनताको अवस्था सृजना भएको छ । म शैलेस सिंहको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको आक्रमणमा संलग्न भएका सबै आक्रमणकारीहरुलाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
२१ फागुनको निर्वाचनमा बझाङबाट महर १८ हजार ५ सय ४३ मतसहित विजयी हुँदा रास्वपा उम्मेदवार सिंह ९ हजार २ सय ६३ मत ल्याएर चौथो भएका थिए ।




प्रतिक्रिया