साउनदेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

साउनदेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने तयारी


काठमाण्डु – नागढुंगा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी तयारी थालिएको छ ।

नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुंगा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए ।

‘सुरुङमार्गभित्रका सबैजसो काम सकिसकेको छ । सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका काम भइराखेको छ’, उनले भने, ‘सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काममात्रै बाँकी छ ।’

नागढुंगा–नौबिसे सुरुङमार्गअन्तर्गत दुई हजार ६८८ मिटर कुल लम्बाइ छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो । ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन नसकेको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्ग सञ्चालन, व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ ।

आयोजनाका निर्देशक नेपालले नागढुंगा–नौबिसे सुरुङमार्ग उपयोग गरेबापत तिर्नुपर्ने दस्तुर संकलन गर्ने बैंकको छनोट र कार्ड छाप्नेलगायतको प्रक्रिया पनि अघि बढिसकेको बताए । आयोजनाले नागढुंगा–नौबिसे सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था मिलाएको छ ।

‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगद लिने व्यवस्था, ‘क्यूआर कोड’ स्कानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

आयोजनाका निर्देशक नेपालले सुरुङमार्ग उपयोग गर्ने सवारीसाधनबाट उठेको दस्तुर रकम व्यवस्थापकले संकलन गरेर सडक बोर्ड नेपालको खातामा दाखिला गर्नुपर्नेछ ।

अहिले सुरुङमार्गभित्र आन्तरिक तयारीका काम भइरहेका छन् । असार महिनाभित्र सबै खालका तयारी पूरा गरेर सुरुङमार्गबाट सवारीसाधन गुडाउने लक्ष्य राखिएको उनले बताए ।

आयोजनाका अनुसार काठमाण्डु प्रवेश तथा बाहिरिने नागढुंगा–नौबिसेनाका हुँदै दैनिक औसतमा दुई पांग्रेबाहेक करिब आठ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् ।

आयोजनाका निर्देशक नेपालले नागढुंगा–नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए ।

आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुईपांग्रे सवारीसाधन भने चलाउन पाइने छैन । २०८२ चैत २६ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर नागढुंगा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको छ ।

सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाण्डु प्रवेश गर्दा ६५ रुपैयाँ र सोही वर्गका सवारीसाधन काठमाण्डु बाट प्रस्थान गर्दा भने ६० रुपैयाँ तोकिएको छ ।

मिनीबस, मिनी ट्रिपरर ट्रकका लागि काठमाण्डु प्रवेश गर्दा रुपैयाँ १२५ र काठमाण्डुबाट प्रस्थान गर्दा भने ८० रुपैयाँ दस्तुर तोकिएको छ ।

बस, ट्रक (सिंगल रियर एक्सल) सवारीका लागि काठमाण्डु प्रवेश गर्दा २६० रुपैयाँ दस्तुर तोकिएको छ । सोही सवारीसाधन काठमाण्डुबाट प्रस्थान गर्दा भने २००रुपैयाँ दस्तुर तोकिएको छ ।

मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणका लागि काठमाण्डुप्रवेश गर्दा ६०० रुपैयाँ दस्तुर तोकिएको छ । काठमाण्डुबाट प्रस्थान गर्दा सोही वर्गका लागि भने २५० रुपैयाँ दस्तुर तोकिएको छ ।