अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोग गर्नुपर्छ : आईजीपी कार्की

अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोग गर्नुपर्छ : आईजीपी कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराधको स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनले सुरक्षित समाज निर्माणमा थप चुनौती थपेको उल्लेख गर्दै संगठित अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन लगायत आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताएका छन् ।

नेपाल पुलिस क्लबमा बुधबार आयोजित ‘प्रहरी कार्यसम्बन्धी समीक्षा सम्मेलन, २०८३’लाई सम्बोधन गर्दै उनले अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने अपराधप्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी, काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेल र काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रहरीको सञ्चार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाण्डु उपत्यका प्रहरी कार्यालय, काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

बदलिँदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र जनअपेक्षाको वृद्धिसँगै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने तथा आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जनाइएको छ ।