ट्रम्पलाई अदालतको झट्का, अमेरिकामा जन्मिने बालबालिकाले जन्मसिद्ध नागरिकता पाउने

ट्रम्पलाई अदालतको झट्का, अमेरिकामा जन्मिने बालबालिकाले जन्मसिद्ध नागरिकता पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ।

अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ।

मंगलबार सार्वजनिक गरिएको फैसलामा अदालतले अमेरिकी संविधानको १४औँ संशोधनको व्याख्यालाई समर्थन गर्दै गैरकानुनी रूपमा वा अस्थायी रूपमा अमेरिकामा बसिरहेका अभिभावकबाट जन्मिएका बालबालिकालाई नागरिकताबाट वञ्चित गर्न नसकिने स्पष्ट गरेको हो।

६–३ को बहुमतबाट भएको फैसलामा प्रधानन्यायाधीश जोन रोबट्र्सले अमेरिकामा गैरकानुनी वा अस्थायी रूपमा बसोबास गरिरहेका अभिभावकबाट जन्मिएका बालबालिका समेत अमेरिकी संविधानको १४औँ संशोधनअनुसार जन्मसिद्ध नागरिक हुने स्पष्ट पारेका हुन् ।

ट्रम्प प्रशासनले अमेरिकामा अवैध वा अस्थायी रूपमा रहेका आमाबुबाबाट जन्मिएका बालबालिकालाई स्वतः अमेरिकी नागरिकता नदिने उद्देश्यले कार्यकारी आदेश जारी गरेको थियो। तर विभिन्न संघीय अदालतले उक्त आदेश कार्यान्वयनमा रोक लगाएका थिए।

जन्मसिद्ध नागरिकताको फैसलापछि विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएका छन्। ल्याटिनो नागरिक अधिकार संगठनहरूले अदालतको निर्णयलाई संविधानको विजय भन्दै स्वागत गरेका छन्।

लिग अफ युनाइटेड ल्याटिन अमेरिकन सिटिजन्सले ‘अमेरिकी भूमिमा जन्मिएको प्रत्येक बच्चा अमेरिकी नागरिक हो भन्ने संवैधानिक सिद्धान्तलाई अदालतले पुनः पुष्टि गरेको’ जनाएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै अमेरिकामा जन्मसिद्ध नागरिकताको संवैधानिक व्यवस्था यथावत् रहने भएको छ भने ट्रम्प प्रशासनको त्यसलाई सीमित गर्ने प्रयासमा ठूलो कानुनी झट्का लागेको छ। नागरिक अधिकारवादी संस्थाहरूले यसको स्वागत गरेका छन् ।