अब खाना पकाउने ग्यास २ हजार ६० रुपैयाँमा पाइने

अब खाना पकाउने ग्यास २ हजार ६० रुपैयाँमा पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २०, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाण्डुका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० कटौती गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाण्डु, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ र डिजेल प्रतिलिटर २२५ रुपैयाँ रहेको थियो ।

यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १९४.५० र डिजेल प्रतिलिटर १९२.५० रुपैयाँ कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १९६ रुपैयाँ र डिजेलको मूल्य १९४ रुपैयाँ तोकिएको छ ।

हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर २२९ रुपौयाँ कायम भएको छ । यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाण्डुका लागि अमेरिकी डलर १ हजार ५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ ।

मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर अब २ हजार ६० रुपैयाँमा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६० रहेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।