एमालेको सत्तापक्षलाई चेतावनीः विपक्षीका लागि खनेको खाल्डोमा आफैं खस्नु होला

एमालेको सत्तापक्षलाई चेतावनीः विपक्षीका लागि खनेको खाल्डोमा आफैं खस्नु होला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमाले सांसद् यशोदाकुमारी बरालले विपक्षीसँग प्रतिशोध साँध्ने नियतले कानून बनाउँदा भविष्यमा ‘आफैंले खनेको खाल्डोमा खस्ने’ सम्भावनाबारे सचेत रहन सरकारलाई आग्रह गरेकी छन् ।

सम्पत्ति शुद्धीकरण ऐन (मनि लाउण्डरिङ) संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ताका तर्फबाट बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बरालले बदला र प्रतिशोधको नियतबाट सरकार अघि बढ्न खोजेको आरोप लगाइन् ।

सत्तापक्ष र प्रतिपक्ष हिंड्ने बाटो एकै भएकाले कुनै बेला आफैंले ल्याएको ऐन आफ्नैविरुद्ध प्रयोग हुन सक्नेबारे रास्वपा र सरकारमा रहेकाहरु सचेत हुनुपर्ने उनको भनाइ थियो ।

विपक्षीप्रति प्रतिशोध साँध्न ल्याइएका ऐनका प्रावधानमा संशोधनमार्फत हेरफेर गर्न बरालले माग गरिन् ।

‘खाल्डो धेरै गहिरो खन्दै हुनुहुन्छ । त्यो खाल्डोमा अहिलेका निश्चित राजनीतिक दलका लागि जुन बनाइएका कुराहरु छन्, सम्पत्ति शुद्धीकरणमा भोलि तपाईं हामी पनि खस्छौं । डोरी नै चाहिन्छ भन्ने लाग्दैन’, उनले भनिन्, ‘मनि लाउण्ड्रिङ’ मा राजनीतिक प्रतिशोधभन्दा पनि जनता, तपाईं हामी हिंड्ने बाटो एउटै हो । ढिलोचाँडो अगाडि पछाडि, बाटो एउटै हो । प्रतिशोध भन्दा पनि देशलाई फाइला हुने र भोलिका समस्या समाधान गर्ने विषयलाई प्राथमिकता दिने कि भन्न चाहन्छु ।’


अरुलाई एउटा औंला देखाउँदा आफूतिर चार औंला आउँछ भन्ने हेक्का राख्न उनले चुनौती दिइन् ।

विगतमा प्रतिपक्षमा रहँदा रास्वपाले अन्य दलका सांसदलाई ‘नेताले जे भन्यो त्यही ताली पड्काएर पास गर्ने झोले’ को संज्ञा दिने गरेको प्रसंग उठाउँदै आफूहरुले विधेयकमा राखेको संशोधन स्वीकार गर्न आग्रह गरिन् ।

‘हिजो तपाईंहरुले झोेलेहरु नेताले जे भन्छन् त्यहीमा ताली पड्काउँछन् भन्नुहुन्थ्यो । अहिले आफू त्यही नगर्नुस्’, उनले भनिन् ।

यस्तै उनले अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूलाई अबुझ भनेर हेपेको गुनासो गरिन् । आफू पनि अर्थशास्त्री भएको दाबी उनको थियो ।