काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध विगतमा सम्पत्ति शुद्धीकरणको हतियार प्रयोग गरिएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण विधेयकमाथि संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री वाग्लेले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर राजनीतिक प्रतिशोध साँध्न दुरुपयोग गरिएको बताए ।
वाग्लेले आफूविरुद्धमा समेत उक्त हतियार प्रयोग गर्न खोजिएको विषयमा अहिले कर्मचारीहरुले सूचना दिएको दाबी गरे ।
वाग्लेले आफूहरुले विभागलाई व्यवसायिक रुपमा अघि बढाउन चाहेको बताए ।
विगतमा जसरी आफूले चाहेका नेतालाई दुःख दिन र राजनीतिक तेजोबध गर्ने हतियारका रुपमा सम्पत्ति शुद्धीकरण विभागको दुरुपयोग वर्तमान सरकारबाट नहुने प्रतिबद्धता उनको थियो ।
‘विगतमा विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर जसलाई दुःख दिनुपर्ने हो, जुन नेताको तेजोबध गर्नुपर्ने हो । उमाथि नै केन्द्रित भएर सशक्त हतियारको व्यापक दुरुपयोग, राजनीतिक अपराधीकरण, राज्य संयन्त्रको अस्त्रीकरण गरिएको अप्रिय पाठबाट सिकेर ‘प्रोफेसनल ट्रयाक’ मा ल्याउन खोजिरहेका छौं । माननीयहरुको प्रतिशोध साँध्न खोजिएको हो कि भन्ने आशंका ठ्याक्कै उल्टो हो’, मन्त्री वाग्लेले भने, ‘हाम्रो पार्टीका सभापतिमाथि पनि योे हतियार चलाइएको हो । मविरुद्ध पनि यो हतियार चलाउन खोजिएको थियो । अहिलेका कर्मचारीहरुले भन्छन् । त्यसैले अहिले त्यही गर्न खोजिएको होइन, हामी त्यो राजनीतिक ‘कल्चर’ लाई तोड्न चाहन्छौं ।’
वाग्लेले आफूहरुको एउटै अर्जुनदृष्टि र लक्ष्य मुलुकलाई ‘ग्रे लिष्ट’ बाट निकाल्नका लागि संशोधन विधेयक ल्याएको स्पष्टीकरण दिए ।
सम्पत्ति शुद्धीकरणको विषयलाई राजनीतिक अभिष्टसँग जोडेमा नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर ल्याउन नसकिनेबारे सरकार सचेत रहेको बताए ।
‘मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्ने हो । त्यसका लागि जे–जे गर्नुपर्छ गर्ने र जे–जे गर्नु हुँदैन नगर्ने हो’, वाग्लेले भने, ‘सम्पत्ति शुद्धीकरण जस्तो विषयलाई राजनीतिक अभिष्टसँग जोड्यौं भने ‘ग्रे लिष्ट’ बाट निस्क्न सक्दैनौं ।’




प्रतिक्रिया