काठमाण्डु– एमाले सांसद् गुरुप्रसाद बरालले विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर राजनीतिक प्रतिशोधको हतियारका रुपमा दुरुपयोग गरेको भन्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भनाइप्रति आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक–२०८३ माथिको छलफलमा संशोधनकर्ता सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले विभागलाई आफू मातहत राखेर राजनीतिक प्रतिशोधको हतियार बनाइएको बताएका थिए ।
उनले सभापति लामिछानेमाथि मात्र नभई आफूविरुद्ध समेत उक्त हतियार प्रयोग गर्न खोजिएको विषयमा अहिले आएर जानकारी पाएको बताए । तर, आफूहरु त्यसबाट मुक्त भएर अघि बढ्न चाहेको उनको भनाइ थियो ।
वाग्लेले नाम उच्चारण नगरे पनि उनको संकेत तत्कालीन केपी ओली नेतृत्वको सरकारतर्फ थियो । ओली प्रधानमन्त्री भएका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राखिएको थियो । रास्वपा सभापति लामिछानेविरुद्ध तत्कालीन ओली सरकारले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण कसुरमा मुद्धा दायर गरेको थियो ।
‘विगतमा विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर जसलाई दुःख दिनुपर्ने हो, जुन नेताको तेजोबध गर्नुपर्ने हो । उमाथि नै केन्द्रित भएर सशक्त हतियारको व्यापक दुरुपयोग, राजनीतिक अपराधीकरण, राज्य संयन्त्रको अस्त्रीकरण गरिएको अप्रिय पाठबाट सिकेर ‘प्रोफेसनल ट्रयाक’ मा ल्याउन खोजिरहेका छौं’, वाग्लेले भने, ‘हाम्रो पार्टीका सभापतिमाथि पनि यो हतियार चलाइएको हो । मविरुद्ध पनि यो हतियार चलाउन खोजिएको थियो । अहिलेका कर्मचारीहरुले भन्छन् ।’
उनले आफूहरुले अहिले त्यही गर्न नखोजेको र त्यस्तो संस्कारलाई तोड्न चाहेको प्रष्टीकरण दिए ।
वाग्लेले बोल्ने बित्तिकै एमाले सांसद् बरालले नियमापत्ति जनाए । उनले संसदमा अप्रमाणित विषयमा बोल्न नमिल्ने भन्दै कसले र कुन कसुरमा पक्राउ गर्न खोजेको थियो भन्ने खुलाउन माग गरे ।
पुष्टि गर्न नसक्ने भए अभिव्यक्ति फिर्ता लिन बरालले माग गरे ।
‘उहाँले जसरी विगतको सन्दर्भ कोट्याएर मलाई समेत अभियोग लगाउन आँटेका थिए, अहिलेका कर्मचारीले त्यो सबै कुरा भन्छन् भनेर जुन शब्द प्रयोग गर्नुभएको छ । त्यसले एउटा गम्भीर प्रश्न उठाएको छ । ती विगतको अभियोग के थियो ? उहाँले के सुन्नुभयो ? अनि को कर्मचारीले उहाँलाई त्यो सुनायो ?’, बरालले भने, ‘उहाँले मनमा के लाग्या छ त्यो भावना यहाँ पोख्ने होइन । यहाँ त यथार्थ कुरा प्रस्तुत गर्नुपर्छ । सत्यार्थ प्रस्तुत गर्नुपर्छ । अरेका कुराहरु हाउसभित्र बोल्न, अप्रमाणित कुरा यो ठाउँमा भन्न मिल्दैन । कि त यो भनाइ सच्याउनुपर्यो, होइन भने पुष्टि गर्नुप-यो ।’




प्रतिक्रिया