किन बन्द गरिँदैछ ‘थ्रीजी’ इन्टरनेट नेटवर्क सेवा ?

किन बन्द गरिँदैछ ‘थ्रीजी’ इन्टरनेट नेटवर्क सेवा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन् ।

पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी सेवा बन्द गर्ने योजनाअघि बढाएको जनाएका छन् ।

दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रूपमा पनि पुराना मोबाइल प्रविधिलाई विस्थापन गरी उच्च क्षमतायुक्त नेटवर्कमा लगानी बढाउने क्रम तीव्र बनेको छ । थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीले टुजी र फोरजी सेवा मात्रै उपलब्ध गराउनेछन् भने आगामी दिनका लागि फाइभजीको तयारी पनि गरिरहेका छन् ।

थ्रीजी प्रविधि अहिलेको आवश्यकताअनुसार कम प्रभावकारी बन्दै गएको दूरसञ्चार क्षेत्रका सरोकारवालाको भनाइ छ । फोरजीको तुलनामा थ्रीजीले कम ब्यान्डविथ उपलब्ध गराउने तथा डाटा र भ्वाइस सेवाको गुणस्तर पनि सीमित रहने भएकाले अधिकांश सेवा प्रदायक कम्पनीहरू थ्रीजीको तुलनामा फोरजी नेटवर्कमा केन्द्रित हुँदै गएका छन् ।

थ्रीजी सेवा बन्द भएपछि उपलब्ध हुने स्पेक्ट्रम तथा नेटवर्क स्रोतलाई फोरजी सेवाको क्षमता विस्तार, ‘भ्वाइस ओभर लङ टर्म इभोल्युसन’ (भोल्टे) सेवाको गुणस्तर सुधार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि उपयोग गरिने ती कम्पनीको भनाइ छ । यसबाट ग्राहकले थप तीव्र गतिको इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा स्थिर नेटवर्क पाउने छन् ।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले नेपालमा मात्रै नभई विश्वका अधिकांश देशमा टेलिकम सेवा प्रदायकले थ्रीजी सेवा हटाउँदै लगेको बताउँछन् । उनका अनुसार नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८३/८४ मा थ्रीजी सेवालाई पूर्णरूपमा हटाउने तयारीका साथ काम गरिरहेको छ ।

‘नेपाल टेलिकमको थ्रीजी सेवा प्रवाह गरिरहेका ३ हजारभन्दा बढी बीटीएस टावरमध्ये केही हटाउन सुरु गरिसकेको छ,’ उनले भने, ‘चितवनमा ‘क्लष्टर’ छुट्याएर यसको परीक्षण भइरहेको छ, त्यसको नतिजाका आधारमा थ्रीजी सेवा पूर्णरूपमा हटाउन सुरु हुन्छ ।’

उनका अनुसार थ्रीजी सेवा हटाएपछि ग्राहकहरू फोरजी सेवामा जान सक्छन् । भ्वाइसका लागि मात्रै टुजी सेवा पर्याप्त हुन्छ भने डाटा र भ्वाइस दुवैका लागि हो भने ग्राहक फोरजीको भोल्टे सेवामा जान सक्छन् । यसले डाटा र भ्वाइस दुवैको गुणस्तर बढाउँछ । हाल नेपाल टेलिकमले २१०० मेगाहर्जमा थ्रीजी सेवा प्रदान गरिरहेको छ । हाल नेपाल टेलिकमले ७६० वटा स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसकेको छ भने आगामी दिनमा सम्पूर्ण स्थानीय तहमा फोरजी सेवा विस्तार गर्दै गुणस्तर सुधार गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले यही असार २२ गते सोमबारदेखि ५ प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिएको जनाएको छ । कम्पनीले यसअघि कोशी प्रदेशका केही स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिसकेको छ ।

एनसेलका अनुसार यस चरणमा कोशी प्रदेशका उदयपुरका त्रियुगा, चौदण्डीका, बेलका, कटारीमा यो सेवा बन्द हुनेछ भने संखुवासभाको खाँदबारी, चैनपुर र धर्मदेवीमा, धनकुटाको पाख्रीबास, साँगुरीगढी तथा भोजपुरको टेम्केमैयु र अरुण लगायतका स्थानीय तहमा थ्रीजी बन्द हुँदैछ ।

मधेश प्रदेशको सप्तरी जिल्लाका सप्तकोशी र कञ्चनरुप, कर्णाली प्रदेशका रुकुम पश्चिमका चौरजहारी, मुसिकोट, त्रिवेणी, सल्यानका शारदा, छत्रेश्वरी, बागचौर लगायतका स्थानीय तहमा थ्रीजी बन्द हुनेछ । यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वका सिस्ने, भूमे, रोल्पाका थबाङ, गंगादेव लगायतका स्थानका साथै बागमती प्रदेशको मकवानपुरका हेटौँडा, बकैया, मनहरी र राक्सिराङ जस्ता स्थानीय तहहरूमा थ्रीजी सेवा बन्द गर्न लागिएको एनसेलले जनाएको छ ।

एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्नेे प्रतिबद्धताअनुरूप एनसेलले थ्रीजी बन्द गर्न लागेको हो । ‘हाम्रा १ करोड ४१ लाख सक्रिय ग्राहकमध्ये ०.७ प्रतिशतले थ्रीजी सेवा प्रयोग गरिरहेका छन्, हामी सन् २०२७ को पहिलो ३ महिनाभित्र थ्रीजी सेवा पूर्णरूपमा बन्द गर्ने गरी काम गरिरहेका छौँ,’ उनले भने ।

उनका अनुसार थ्रीजी सेवा बन्द भए पनि ग्राहकहरूले टूजीका साथै फोरजी नेटवर्कमार्फत उच्च गुणस्तरको भ्वाइस सेवाको उपयोग गर्न सक्छन् । थ्रीजी बन्द भए पनि यो नेटवर्कमार्फत प्रदान हुँदै आएको भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत उपलब्ध हुने उनको भनाइ छ ।

‘थ्रीजी बन्द भएपछि सेवाका लागि प्रयोग हुँदै आएको स्पेक्ट्रम फोरजी सेवाका लागि उपयोग हुन्छ । उच्च गतिको मोबाइल डेटा तथा भोल्टेमार्फत गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन हामीले फोरजी सेवा देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार गरिसकेका छौँ,’ उनले भने । एनसेलले आगामी दिनमा फाइभजीजस्ता नयाँ प्रविधि सञ्चालनका लागि आवश्यक तयारीसमेत गरिरहेको जनाएको छ ।

थ्रीजी सेवा बन्द भएपछि ती क्षेत्रमा भ्वाइस सेवा फोरजीमा आधारित भोल्टे प्रविधिमार्फत सञ्चालन हुनेछ । एनसेलले अझै थ्रीजी प्रयोग गरिरहेका ग्राहकलाई नि:शुल्क फोरजी नेटवर्कमा स्तरोन्नति गर्न तथा फोरजी चल्ने मोबाइलमा भोल्टे सेवा सक्रिय गर्न आग्रह गरेको छ । कम्पनीका अनुसार भोल्टे सेवा प्रयोगका लागि फोरजी चल्ने सिम, फोरजी चल्ने मोबाइल सेट र फोरजी नेटवर्कको आवश्यक पर्छ ।

नेपाल टेलिकमले नेटवर्क आधुनिकीकरण कार्यक्रमअन्तर्गत थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने योजना अघि बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०८३/८४ भित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखेको जनाएको छ । थ्रीजी नेटवर्कलाई क्रमश: फोरजीमा रूपान्तरण गरिने भएकाले पुराना थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई नि:शुल्क फोरजी सिममा परिवर्तन गर्न कम्पनीले आग्रह गरेको छ । सिम परिवर्तनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्रसहित नजिकको नेपाल टेलिकम कार्यालयमा जान सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमका अनुसार थ्रीजी बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी र नेटवर्क स्रोत फोरजी सेवाको क्षमता विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनको तयारीमा उपयोग गरिनेछ । यसबाट नेटवर्कको कार्यक्षमता बढ्नुका साथै ग्राहकले अझ गुणस्तरीय मोबाइल ब्रोडब्यान्ड तथा भ्वाइस सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

दूरसञ्चार क्षेत्रका विज्ञहरूका अनुसार थ्रीजी सेवा बन्द गर्ने निर्णयले सीमित स्पेक्ट्रमको प्रभावकारी उपयोग, नेटवर्क सञ्चालन लागतमा कमी तथा उच्च गुणस्तरको मोबाइल सेवा विस्तारमा सहयोग पुग्नेछ । यसले भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासलाई सहज बनाउने विश्वास गरिएको छ । (रासस)