गणेश नेपालीको मृत्युपछि रञ्जु दर्शनाले भनिन्- रोग, शोक र भोकमा बग्ने आँसु झुटो हुँदैन

गणेश नेपालीको मृत्युपछि रञ्जु दर्शनाले भनिन्- रोग, शोक र भोकमा बग्ने आँसु झुटो हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनामा सरकारले उपचार खर्च मात्रै व्यहोरेर जिम्मेवारी पूरा नहुने बताएकी छन्।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्थासम्म किन पुगे भन्ने विषयमा सरकारले गम्भीर छानबिन गर्नुपर्ने र त्यसबाट नीति निर्माणका लागि पाठ सिक्नुपर्ने बताएकी हुन्।

‘आज गणेश नेपालीको आत्मदाह, उनको उपचार खर्च व्यहोर्ने सम्म सीमित रहन मिल्दैन। गणेश नेपाली आफैंलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ,’ उनले लेखेकी छन्।

उनले गणेश नेपालीले शारीरिक रूपमा आफूलाई जलाएको भए पनि दैनिक रूपमा ‘मैले सकिनँ, मरौ कि क्या हो’ भन्ने सोच बोकेर बाँचिरहेका लाखौं युवाको जीवन सहज बनाउने नीति आवश्यक रहेको उल्लेख गरेकी छन्।

‘‘मैले सकिनँ’ भन्ने आभास कमजोर मनोबल मात्रै होइन, सामाजिक-आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई त्यस अवस्थासम्म पुर्‍याएको यथार्थ पनि हो,’ उनले भनेकी छन्।

मनोपरामर्श मात्रै यस्तो समस्याको समाधान नभई आधारभूत आवश्यकता पूरा हुनु नै मानसिक सुरक्षाको प्रमुख आधार हुने उनको भनाइ छ।

दर्शनाले सरकारले सय दिनमै आमूल परिवर्तन वा लाखौं रोजगारी सिर्जना गर्न नसके पनि त्यसको आधार निर्माण गर्ने अध्ययन र सुरुवात गर्न सक्ने उल्लेख गर्दै समाजका सबैभन्दा विपन्न र श्रमजीवी वर्गको पीडा कम गर्न सरकार केन्द्रित हुनुपर्ने बताएकी छन्।

यसअघि सुकुमबासी व्यवस्थापनको विषयमा पनि आफूले प्रतिनिधिसभामा दुध चुसाइरहेका आमा, सुत्केरी तथा वृद्धवृद्धिलाई एकै ढंगले व्यवहार नगर्न सरकारको ध्यानाकर्षण गराएको स्मरण गर्दै उनले त्यस विषयमा पनि सरकारले उचित ढंगले काम गर्न नसकेको टिप्पणी गरेकी छन्।

‘रोग, शोक र भोकमा बग्ने आँसु झुटो हुँदैन,’ भन्दै उनले सरकारले समाजको पिँधमा रहेका नागरिकको पीडाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिएकी छन्।