काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले मुगुका युवा गणेश नेपालीको मृत्युको कारण संघीय सरकार नभई स्थानीय सरकार रहेको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले त्यसबारे प्रश्न उठाएपछि जवाफ दिने क्रममा उनले आफूहरु नभई घटनामा काठमाण्डु महानगरपालिकाको नेतृत्व जिम्मेवार रहेको आरोप लगाए । गुरुङले घटना भएको पालिकामा कुन दलको सरकार छ ? भन्ने प्रश्न गरे ।
काठमाण्डुका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) हाल प्रधानमन्त्री छन् भने उनले राजीनामा दिएपछि उपप्रमुख सुनिता डंगोल कार्यबाहक मेयर छिन् ।
डंगोल एमालेबाट उपमेयर निर्वाचित भएकी हुन् ।
गुरुङले सरकार कसरी सञ्चालन हुन्छ भनेर विपक्षीलाई सिकाए । ‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ’ उनले भने, ‘एउटा, संघीय सरकार, एउटा प्रदेश सरकार र अर्को स्थानीय सरकार । जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा छ, ट्राफिकले ह्वीलक गरेको छ ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको ? तपाईंहरूले कानुन बनाएको हो, हामीले त्यही कानुन टेकेको हो ।’




प्रतिक्रिया