काठमाण्डु – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशैभरको यातायात सेवा प्रभावित भएको छ।
पहिरो र सम्भावित बाढीको उच्च जोखिमका कारण मेचीदेखि कर्णालीसम्मका पाँचवटा मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार मेची राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, कालीगण्डकी करिडोर र कर्णाली राजमार्गका विभिन्न खण्डमा सवारी सञ्चालन ठप्प भएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटेन्जेबसी खण्डमा सवारीसाधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ।
यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–५ भर्याङडाँडामा खसेको पहिरोले कान्ति लोकपथ बन्द भएको छ भने पूर्वतर्फ इलाम नगरपालिका–९ राजदुपालीमा निरन्तरको वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा खसेको पहिरोले कालीगण्डकी करिडोर सञ्चालन हुन सकेको छैन। यस्तै कर्णाली राजमार्गअन्तर्गत दुई जिल्लाका सडकखण्ड पहिरोले ठप्प बनाएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला र जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीदेखि तातोपानी गाउँपालिका–७ ताम्तीसम्मको सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया