पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।

साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् ।

भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि सफाइ अभियान सुरु गरेको कार्यबाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन् ।

पहिलो दिन शनिबार पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ । अभियानलाई आईतबार अपराह्नपछि पनि निरन्तरता दिइने उनले बताइन् । आईतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उनले बताइन् । पहिलो दिनको पशुपति क्षेत्रको सफाइमा दर्जन बढी संघसंस्थाको सहभागिता थियो ।

कोषले शनिबारदेखि सुरु गरेको सफाइ अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताइन् । उनका अनुसार साउनका लागि भने आईतबार र अन्य दिनमा पनि आवश्यकताअनुसार विशेष सफाइ अभियान सञ्चालन गरिनेछ ।