काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाण्डुको तारकेश्वर नगरपालिका–८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाण्डुको टोखा नगरपालिका–५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाण्डु महानगरपालिका–३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–१० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन् ।
पक्राउमध्ये कुनसाङले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७ हजार रूपैयाँ, धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९५ हजार रूपैयाँ, उमेशले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका–२ बाट र धन बहादुरलाई तारकेश्वर नगरपालिका–८ बाट तथा उमेशलाई टोखा नगरपालिका–५ बाट, सचितालाई काठमाण्डु महानगरपालिका–३ बाट र निरोजलाई काठमाण्डु महानगरपालिका–४ बाट पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया