काठमाण्डु – बझाङको केदारस्युँ गाउँपालिका–७ सुङ्गुरेमा शनिबार बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार दिउँसो करिब ४ बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ६४४४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको छ ।
दुर्घटनाको समयमा जीपमा १७ जना सवार रहेका थिए ।
दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ चुहावनकी केला देवी धामी, चक्र महत तथा केदारस्युँ गाउँपालिका–७ की विमला देवी धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चौथो मृतकको पहिचान समाचार तयार पार्दासम्म खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये चालक देवबहादुर धामी, झल्का महत, जयमती महत, धनशेर जाग्री, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, बिरु जाग्री र राय महत गम्भीर घाइते भएका छन् ।
घाइतेहरूको स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी (सीडीओ) मुकेशकुमार केशरी तथा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमल्सिनाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।




प्रतिक्रिया