काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितहरूको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै पक्राउ परेका सबैलाई तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै सभापति थापाले होल्डिङ सेन्टरमा बाढीपीडितहरूको नाजुक अवस्था बुझ्न तथा राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायतका युवामाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिइएको घटना अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको उल्लेख गरेका छन् ।
उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकले प्रश्न सोध्न पाउनु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसको जवाफ गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने बताउनुभएको छ। सरकार फरक मत र आलोचना सुन्न सक्ने क्षमता राख्दा मात्रै विधिको शासनप्रति प्रतिबद्ध र बलियो ठहरिने उनको भनाइ छ ।
सभापति थापाले आलोचनालाई दमनमार्फत होइन, संवाद र उत्तरदायित्वका माध्यमबाट सम्बोधन गर्नु राज्यको दायित्व भएको उल्लेख गरे । फरक मत र जनताका प्रश्न सुन्न नसक्नु बहादुरी नभई सत्ताको चरम कायरता भएको टिप्पणी गर्दै उनले पक्राउ परेका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग आग्रह गरेका छन् ।




प्रतिक्रिया