काठमाण्डु – इरानले होर्मुज जलडमरू बन्द गरेको घोषणा गर्दै त्यहाँबाट गइरहेको एउटा जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको छ ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले साइप्रसको झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही गरिएको अमेरिकाले जनाएको छ।
सेन्टकमका अनुसार आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ र जहाजले यात्रा जारी राख्न नसक्ने अवस्था आएको छ। जहाजका चालकदलका एक सदस्य बेपत्ता रहेको पनि सेन्टकमले जनाएको छ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेन्टकमको विज्ञप्ति सामाजिक सञ्जाल एक्समा साझा गर्दै इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउने चेतावनी दिएको छ ।
यसअघि आइतबार इरानको सरकारी सञ्चारमाध्यमले होर्मुज जलडमरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको थियो ।
आईआरजीसीका अनुसार स्वीकृत मार्ग छाडेर अघि बढेको तथा आफ्नो निगरानी प्रणाली बन्द गरेको एउटा जहाजलाई बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको थियो। चेतावनीस्वरूप गोली प्रहार गरेपछि जहाज रोकिएको इरानको दाबी छ।
यो सैन्य तनावको पृष्ठभूमिमा इरानका नयाँ सर्वोच्च नेता आयतोल्लाह मोज्तवा खामेनीको बदला लिने उद्घोष रहेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी मारिएका आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि लगत्तै मोज्तवा खामेनीले शत्रुसँग रगतको बदला लिने बताएका थिए। मसादमा भएको अन्त्येष्टि समारोहमा सहभागी हजारौँ इरानीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको माग गर्दै प्रदर्शन नै गरेका थिए ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी धम्कीको कडा शब्दमा प्रतिवाद गर्दै इरानले कुनै पनि अप्रिय कदम चालेमा उसका सबै क्षेत्रहरू ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।
उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले युद्धविरामको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यो द्वन्द्वले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर संकट उत्पन्न गराएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।




प्रतिक्रिया