काठमाण्डु– आज (आइतबार) देशका २३ जिल्ला र त्यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै २३ जिल्लामा बाढीको जोखिम रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो ।
आज काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलाई सुन्तला रङ दिँदै आज यी जिल्ला र आसपास बाढीको उच्च जोखिम रहेको जनाएको छ।
यस्तै आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ।
महाशाखाले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।
हरियो रङ जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत हो भने पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिमको संकेत गदर्छ यस्तै सुन्तला रङले जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ। रातो रङले चाहिँ नदीको जलसतहले खतरा तह पार गर्ने र बाढीको उच्च जोखिम हुने संकेत गर्छ।

आज मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली हुनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेग तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा अति भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार र सोमबार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले गेगरान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने जनाएको छ ।




प्रतिक्रिया