काठमाण्डु– संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ । उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका कीर्तिमान तोडेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ।
प्रारम्भिक तथ्यांकअनुसार, युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम १०९ डिग्री फरेनहाइट (४३ डिग्री सेल्सियस) पुगेको छ ।
मौसम सेवाका अनुसार, दुवै सहरमा १५० वर्षभन्दा बढी समयदेखि राखिएको अभिलेखमा यो अहिलेसम्मकै उच्च तापक्रम हो । यसअघि साल्ट लेक सिटीमा १०७ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) र बिलिङ्समा १०८ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) को कीर्तिमान रहेको थियो ।
उच्च तापक्रमका कारण कोलोराडो र युटाका विभिन्न क्षेत्रमा फैलिएका डढेलो नियन्त्रणको प्रयास प्रभावित भएको छ । मौसमविद्हरूले अत्यधिक गर्मी मंगलबारसम्म कायम रहने अनुमान गरेका छन् ।
एक साताअघि पूर्वी अमेरिकामा पनि अर्को गर्मीको लहर चलेको थियो । त्यस क्रममा न्युयोर्क र फिलाडेल्फियामा तापक्रम करिब १०४ डिग्री फरेनहाइट पुगेको थियो ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर अत्यधिक गर्मीका लहरहरू अझ बारम्बार, लामो समयसम्म रहने र तीव्र हुने प्रवृत्ति बढ्दै गएको छ । जीवाश्म इन्धनको दहनबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई यसको मुख्य कारण मानिएको छ ।
यसैबीच, पश्चिमी युरोपले हालसम्मकै सबैभन्दा तातो जुन महिनाको अनुभव गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यहाँको हालैको गर्मीको लहरका कारण एक हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।




प्रतिक्रिया