स्वास्थ्य मन्त्रालयले सोध्यो २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण (नामसहित)

स्वास्थ्य मन्त्रालयले सोध्यो २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लामो समयदेखि स्वीकृतिबिना कार्यालयमा अनुपस्थित भएका २३ जना कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो ।

मन्त्रालयले बिहीबार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स र ल्याब टेक्निसियनहरुको नामावली सार्वजनिक गर्दै उनीहरुलाई १५ दिनभित्र सफाइ पेश गर्न भनेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई अनुपस्थित रहेका ती कर्मचारीहरूलाई सेवाबाट किन नहटाउने भनी प्रश्न गरेको छ। चित्तबुझ्दो कारण नभएमा उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख)को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय हुन सक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।

​उक्त कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगन्ज र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू रहेका छन्।

मन्त्रालयले सम्बन्धित कर्मचारीहरूलाई यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र आफ्नो आधिकारिक सफाइ पेस गर्न निर्देशन दिएको छ र सो अवधिभित्र सफाइ पेस नगरे कानुन बमोजिम कारबाही अघि बढाइने जनाएको छ।