काठमाण्डु – सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई रिहा गर्न आदेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले उनलाई रिहा गर्न आदेश दिएको छ ।
आदेशमा भनिएको छ, ‘… असार १८ मा जारी भएको पक्राउ पुर्जी र सोही आधारमा जारी भएको असार १९ गतेको कैदी पुर्जी कानूनसम्मतको रहेको नदेखिएको हुँदा उत्प्रेषण आदेशले बदर गरी अन्य मुद्दाबाट थुनामा राख्न नपर्ने भए आजै निवेदकलाई थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ ।’
२०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा भएको मधेश आन्दोलनमा थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीले उनलाई सफाइ दिएकोमा पुनरावेदन निवेदनबाट उच्च अदालत जनकपुरले उनलाई २०८३ असार १७ गते ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
उच्चको फैसलाको पूर्णपाठ नआउँदै इलाका प्रहरी कार्यालयले असार १८ गते उनलाई गैरकानुनी रूपमा पक्राउ गरेको भन्दै उनका छोरा मनोजकुमारले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । पुनरावेदन गर्न पाउने समय बाँकी रहँदा नै कोइरीलाई दिएको पक्राउ पुर्जी र कैदी पुर्जी कानुनसम्मत नदेखिएको आदेश सर्वोच्चले दिएको छ ।




प्रतिक्रिया