काठमाण्डु – संघीय संसद् सचिवालयले सम्पत्ति विवरण बुझाउन संघीय संसद्का सबै सदस्यलाई आग्रह गरेको छ।
सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सांसदहरूले आफ्नो सम्पत्ति विवरण कानुनले तोकेको अवधिभित्र बुझाउन आग्रह गरेको हो ।
आर्थिक वर्ष २०८२-८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि २०८३ भदौ २९ गतेसम्म आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सारित अवस्थासहितको अद्यावधिक विवरण बुझाउन सचिवालयले सूचनामार्फत् आग्रह गरेको हो ।
सचिवालयले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाए कानुनबमोजिम कारबाही हुने प्रावधान रहेको भन्दै सबै सांसदलाई समयमै विवरण पेस गर्न आग्रह गरेको छ।
सांसदहरूले सम्पत्ति विवरण सिलबन्दी खाममा राखी संघीय संसद् सचिवालय, संसद् सुविधा व्यवस्थापन शाखा (भवन नं. १, कोठा नं. २०७) मा दर्ता गराउनुपर्नेछ। सम्पत्ति विवरण फाराम संसद् सुविधा व्यवस्थापन शाखाबाट तथा www.parliament.gov.np बाट पनि प्राप्त गर्न सकिने सचिवालयले जनाएको छ।
सूचनामा सिलबन्दी खाममा नाम, लिङ्ग, कार्यालय, पद, प्रतिनिधिसभा सदस्यका हकमा जिल्ला–निर्वाचन क्षेत्र नम्बर, राष्ट्रियसभा सदस्यका हकमा निर्वाचित प्रदेश, स्थायी ठेगाना, मोबाइल नम्बर र इमेल उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।




प्रतिक्रिया