रौतहट– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् गणेश पौडेलमाथि स्थानीयले कालोमोसो दलेका छन् ।
पौडेललाई गृहजिल्ला रौतहटको गढीमाई नगरपालिकामा बिहीबार राति करिब साढे ८ बजेतिर स्थानीयले कालोमोसो दलेका हुन् ।
लामो समयका लागि संसद् बैठक स्थगित भएपछि पौडेल मतदातासँग भेटघाट गर्न भन्दै गृहजिल्लातिरै छन् ।
विश्वस्त श्रोतका अनुसार सांसद् पौडेललाई मुस्लिम समुदायका व्यक्तिहरुले आफ्नो मस्जिद भ्रमण गरिदिन भनेका थिए । पौडेलले रातिको समय भएकाले अर्कोपटक जाने बताए ।
त्यही बीच उनीमाथि कालोमोसो दलिएको रिपोर्ट गृह मन्त्रालयसम्म पुगेको छ ।
‘मतदातासँग भेट्न उहाँ (पौडेल) एक्लै जानुभएको रहेछ’, गृह मन्त्रालय श्रोतले काठमाण्डु पाटीसँग भन्यो, ‘त्यही बीचमा उहाँको अनुहारमा कालोमोसो दलिएको भन्ने खबर आएको छ ।’
पौडेलले आफूमाथि कालोमोसो दल्नेलाई कारबाही माग गरेर प्रहरीमा मौखिक उजुरी दिएका छन् ।
प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।
पौडेल गत २१ फागुनको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर–४ बाट ३६ हजार ८ सय ७६ मतसहित विजयी भएका थिए ।




प्रतिक्रिया