काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थानका डिन तथा इन्जिनियरिङ कलेजहरूको छाता सङ्गठन त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका हुन् ।
छलफलमा त्रिविका उपकुलपति प्रा. डा. भोला थापा, संस्थानका डिन प्रा डा सुशीलबहादुर बज्राचार्य, एकोन त्रिवि विभागका संयोजक धनप्रसाद पौडेललगायत पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको हो ।
मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि उनीहरूलाई मुलुकभित्रै अवसर सृजना गर्ने गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकार भएका निकायलाई आग्रह गरेका छन् । उनले नेपालमा इन्जिनियरिङ शिक्षा प्रवर्द्धन तथा गुणस्तर अभिवृद्धिका लागि परीक्षण प्रणालीमा सुधारदेखि नीतिगत व्यवस्थापनमा मन्त्रालयले योजनाबद्ध काम गर्ने स्पष्ट पारे।
छलफलमा काठमाण्डु इन्जिनियरिङ कलेजका सञ्चालक एवं एकोनका पूर्वअध्यक्ष इन्जिनियर हिरेन्द्रमान प्रधान, सगरमाथा इन्जिनियरिङ कलेजका प्रमुख इन्जिनियर दक्षिणा श्रेष्ठ, कान्तिपुर इन्जिनियरिङ कलेजका प्रमुख डा केसर प्रसाईँ, ललितपुर इन्जिनियरिङ कलेजका निर्देशक ललन तिवारी, नेसनल कलेज अफ इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पौडेललगायतको सहभागिता थियो ।




प्रतिक्रिया