काठमाण्डु – अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । उनको आईसीयूमा उपचार भइरहेको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग पाँचबुँदे माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा बिहीबार २४ औँ अनशन सुरु गरेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल सारिएको हो ।
सेती प्रादेशिक अस्पतालका फिजिसिएन डा. जगेन्द्र दुवालको नेतृत्वको टोलीले उनको स्वास्थ्य जाँच गरिरहेको छ।
केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको शरीरमा सुगरको मात्रा घटेर ५० पुगेको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको उनले बताए ।
केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, स्वास्थ्य सेवाको पहुँच तथा सम्बन्धित विषयमा आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै अनशन थालेका हुन् ।
केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताइसकेका छन् ।
शुक्रबार साँझ डा. केसीका सहयोगी जैशीसँग कुरा गरेका मन्त्री पोखरेलले स्वयंम केसीसँगै पनि फोन संवाद गरेका थिए ।
संवादका क्रममा पोखरेलले सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए । केसीले पाँच मागका अतिरिक्त सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको अध्ययन थाल्नुपर्ने र स्वार्थ प्रेरित भएर गरिएको उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने बटमलाइन भएको बताएका थिए ।




प्रतिक्रिया