काठमाण्डु– आपराधिक पृष्ठभूमिका काँग्रेस विराटनगरका नेता अभिषेक गिरीसँग निकट सम्बन्ध तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेको छ ।
गिरीविरुद्ध जारी अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका व्यक्ति र सहयोगी सञ्जालमाथि प्रहरीले निगरानी बढाएको थियो । त्यस क्रममा प्रहरीको राडारमा कार्की परेका हुन् ।
वडा प्रहरी कार्यालय विराटनगर र हाटखोलाको संयुक्त टोलीले कार्कीलाई शनिबार बिहान घरबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कार्की लामो समयदेखि अभिषेक गिरीको सम्पर्कमा रहेको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध, आर्थिक कारोबार, विगतका गतिविधि र सम्भावित आपराधिक संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा कार्कीले गिरीको आर्थिक व्यवस्थापन, हिसाबकिताब तथा विभिन्न गतिविधिमा सहयोग गर्दै आएको हुन सक्ने प्रहरीको आशंका छ ।
मोरङ प्रहरीले आपराधिक पृष्ठभूमिका गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको छ । गिरीको प्रभाव प्रयोग गरी असुली, मिटरब्याज कारोबार, ठेक्कापट्टामा दबाब सिर्जना गर्ने, धम्की दिने तथा अन्य आर्थिक गतिविधिमा संलग्न भएको आशंका गरिएका व्यक्तिहरूमाथि निगरानी भइरहेको प्रहरीको भनाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गिरीसँग जोडिएका व्यक्ति, आर्थिक कारोबार र गतिविधिबारे अनुसन्धान जारी रहेको बताएका छन् । अनुसन्धानबाट प्रमाण भेटिए आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।
प्रहरीले मोरङ कारागारका कैदीबन्दीको रासन भत्ताको रकम संकलन गरी आर्थिक शोषण गरेको आरोपमा गत १३ असारमा विराटनगर–८ स्थित निवासबाटै पक्राउ गरेको थियो ।




प्रतिक्रिया