काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्दै अवैध क्रियाकलापको निगरानी र रोकथाममा कडाइका साथ लाग्न निर्देशन दिएका छन् ।
आईतबार जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म र बोर्डर आउट पोष्ट तथा सुरक्षा पोष्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।
उनले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिँदै सीमा ईलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणका लागि समयमा नै योजना बनाई तैनाथ हुनुपर्नेमा जोड दिए ।
कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीहरूले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताकासाथ काम गर्न निर्देशन दिँदै महानिरीक्षक पौडेलले भने, ‘असल मनसायका साथ गरिएको कामकारवाहीमा भएको कमीकमजोरीको जिम्मा संगठनले लिनेछ ।’
उनले परम्परागत सोच र मानसिकताभन्दा माथि उठेर नतिजा दिने किसिमले काम गर्नुपर्ने बताउँदै सीमामा बसोबास गर्ने स्थानीय बासिन्दाहरूसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आमनागरिकहरूको सहजताका लागि समेत काम गर्नुपर्ने बताए ।
आईजीपी पौडेलले सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको समेत प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए । विशेषगरी सीमा नाकामा हुुने अवैध चोरीनिकासी तथा लागूऔषध ओसारपसार नियन्त्रण र राजस्व चुहावट लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य गर्नुका साथै सीमामा हुने अवाञ्छित क्रियाकलापहरू तथा सम्भावित घटना दुर्घटनालाई समेत मध्यनजर गर्दै परिचालित हुनुपर्नेमा जोड दिए ।
सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न उनले सीमा क्षेत्रमा कार्यरत सबै दर्जाका कर्मचारीलाई निर्देशन दिए ।
उनले वर्षातको समयलाई मध्यनजर गर्दै बाढीपहिरो र डुबान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरूलाई आवश्यक उद्धारका सामग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिए ।




प्रतिक्रिया