काठमाण्डु– कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल सरकारका प्रतिनिधिको वार्ता जारी छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको टोलीले वार्ता गरिरहेको छ ।
डा. केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उनका प्रतिनिधि डा. अमृत जैसी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिए ।
पहिलो चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँ हुने निष्कर्षअनुसार डा. केसीसँग थप वार्ता हुने उनले बताए । डा. केसी विभिन्न पाँचबुँदे माग राखेर गत बिहीबारदेखि अनशनमा छन् । स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको छ ।
डा. केसीले गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी भएका नियमविपरितका नियुक्ति बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेजीको माग गरेका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुका साथै विगतमा सरकारसँग भएका लिखित सहमतिहरूको पालना, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार तथा सेवा प्राथमिकताका साथ विस्तार गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी गत भदौ २३ र २४ गते भएका जघन्य हत्या, आगजनी, लुटपाटलगायत घटनाका दोषीलाई कारबाही तथा २०४६ सालदेखि हालसम्मका उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने डा. केसीको माग छ ।




प्रतिक्रिया