टीयूको प्रश्नपत्र बाहिरिएको प्रकरणमा कसरी हुँदैछ कारवाही ? के गर्दैछ सरकार ?

टीयूको प्रश्नपत्र बाहिरिएको प्रकरणमा कसरी हुँदैछ कारवाही ? के गर्दैछ सरकार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (टीयू) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको ६ मिनेटमै ह्वाट्सएप ग्रूपबाट प्रश्नपत्र बाहिरियो ।

हजारभन्दा बढी सदस्य रहेको ‘एमबीएस फस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रूपमा प्रश्नपत्रको पीडीएफ मात्र पोष्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो ।

परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता र हजारौँ होनहार विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने घटना बाहिरिनेबित्तिकै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसलाई सामान्य ढिलासुस्तीमा छाडेनन् । घटना सार्वजनिक हुनासाथ उनको ‘र्‍यापिड एक्सन’कै कारण २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लियो ।

साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रूपमा प्रश्नपत्र छ्यापछ्याप्ती भयो । ग्रूपमा ‘सुलब सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै ‘इको (अर्थशास्त्र) को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भन्दै विद्यार्थीलाई विश्वस्त पारिरहेका थिए । परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी संगठित रूपमा प्रश्नपत्र ‘लिक’ गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न भयो ।

प्रविधिको प्रयोग गरेर गराइएको अपराधलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री पोखरेलले तत्कालै प्रहरी नेतृत्वसँग समन्वय गरे । उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई २४सै घण्टा परिचालन गर्न निर्देशन दिए ।

मन्त्री पोखरेलको निर्देशन र ‘जिरो टोलरेन्स’ नीतिका कारण प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गर्‍यो । नतिजास्वरूप २४ घण्टाभित्रै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका ‘सुलब सर’सहित स्क्रिनसटमा नाम देखिएका अर्का १ जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो ।

शिक्षामन्त्री पोखरेल भन्छन्, ‘शैक्षिक अपराधमा कसैलाई छुट छैन’

घटनापछि मन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए । उनले त्रिविको परीक्षा प्रणालीमा देखिएको विकृतिविरुद्ध कडा कदम चाल्ने स्पष्ट पारे ।

मन्त्री पोखरेलले परीक्षा सञ्चालन र प्रश्नपत्रको सुरक्षामा लापरबाही गर्ने विश्वविद्यालयका आन्तरिक संयन्त्रमाथि पनि छानबिन गरिने र दोषी पाइए जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताए ।

त्रिविद्वारा छानबिन समिति गठन

यसैक्रममा त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले पनि शिक्षामन्त्री पोखरेलको निर्देशनमा घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले परीक्षा केन्द्रको सुरक्षा चुस्तता, प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

विगतमा विश्वविद्यालयमा प्रश्नपत्र बाहिरिँदा वा परीक्षामा धाँधली हुँदा छानबिन समितिमै कुरा अल्झिने र दोषी उम्किने परिपाटी थियो । यसपटक शिक्षामन्त्री पोखरेलको सक्रियता र प्रहरीको द्रुत कारबाहीले शैक्षिक क्षेत्रमा एउटा सकारात्मक र बलियो सन्देश दिएको छ शैक्षिक अपराधमा अब कानुनले कुनै मोलाहिजा गर्ने छैन । चौबिस घण्टाभित्रै आरोपित पक्राउ पर्नुले सरकार र शिक्षा मन्त्रालय शैक्षिक सुधार र सुशासनप्रति कतिको गम्भीर छ भन्ने कुराको पुष्टि गरेको छ ।