काठमाण्डु – डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा र ३७ वर्षीय विजय तामाङ रहेका छन् ।
उनीहरूको साथबाट ३ लाख ८४ हजार, अमेरिकी डलर ५० दरको १ थान, सुनको बेरुवा औँठी १ थान, ब्रासलेट १ थान, रिङ १ थान र तिलहरी १ थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ परेकामध्ये धनबहादुरविरुद्ध विभिन्न मितिमा ठगीसम्बन्धी कसुरमा ६ वटा मुद्दा दर्ता र लोकबहादुरविरुद्ध विभिन्न मितिमा खोटा चलन, अभद्र व्यवहार, ठगी मुद्दा दर्ता भएको र बैंकिङ कसुर मुद्दामा फरार देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया