काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
यतिबेला देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशको हिमाली र पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस र कोशी प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ।
यस्तै देशका हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना देखिएको छ।
महाशाखाका अनुसार कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड एवम् तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षा र चट्याङ्गको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




प्रतिक्रिया