काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीचको झडपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लालविक्रम थापाले सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाएका छन् ।
घटनामा प्रहरीले गोली चलाउँदा एक जना युवकको मृत्यु भएको छ । गोली लागेका अन्य ८ जनाको उपचार भइरहेको छ ।
स्थानीय प्रशासनले थप हिंसा भड्किन नदिन कर्फ्यु आदेश जारी गरेको छ ।
घटनास्थल कप्तानगञ्ज नयाँ हटिया पुगेका सुनसरी-२ बाट निर्वाचित रास्वपाका सांसद थापाले प्रहरीले ताकिताकी छाती र पेटमा गोली हानेको दाबी गरेका छन् । उनले प्रहरीको भूमिकामा प्रश्न उठाउँदै कोहीलाई गोली हानेर खाल्टोतिर कतै हालेको छ कि भन्ने आफूलाई शंका लागेको दाबी गरे ।
‘किनभने त्यो हिसाबले हेर्दाखेरि १० जनालाई ताकेर एक जनालाई ताकेर छाती र पेटमा गोली हानेको छ’, सांसद थापाले दाबी गरे । थापाले घटनालाई गम्भीर र खेदजनक बताए ।
प्रहरीले गोली चलाउनु नपर्ने अवस्था रहेको बताउँदै यनले घटनाका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले गोली लागेका सबै व्यक्तिको अवस्थाबारे यकिन गर्न र कतै अन्य घाइते लुकेर बसेका वा उपचार नपाएर अलपत्र परेका छन् कि भनेर पुनः खोजी गर्न प्रशासनलाई आग्रह गरे ।
उनले यस घटनामा प्रशासन र सुरक्षा निकायबीच समन्वय अभाव भएको आशंका गरे । हातमा हतियार छ भन्दैमा नागरिकमाथि गोली चलाउने काम स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।
नयाँ सरकार बनेको अवस्थामा यस्ता घटनाले देशभर नकारात्मक सन्देश जाने भन्दै थापाले सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन आग्रह गरे । धार्मिक विवादका कारण परिस्थिति थप नबिग्रियोस् भन्नेमा सबै पक्षले संयम अपनाउनुपर्ने थापाले आग्रह गरे ।




प्रतिक्रिया