काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको झडप घटनामा संवादबाट समाधान खोज्न अपिल गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण समाधानका लागि अपिल गरेको हो ।
‘शान्तिपूर्ण रूपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन आयोग राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवं सर्वसाधारणलाई अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
आयोगको कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको विज्ञप्तिमा उल्लेख छ । आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरुसँग घटनाबारे जानकारी लिइरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पोलमा झण्डा राख्ने विषयमा २ समुदायबिच विवाद भएको, डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ्दै जाँदा २ पक्षबिच तोडफोड र झडप सुरु भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएका र घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको छ ।’
आयोगका अनुसार घाइतेमध्ये ४ जनाको न्युरो अस्पताल, ४ जनाको विराट नर्सिङ होम र १ जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
‘घटनापश्चात घटनाको विरोधमा ठाउँठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी, रड लगायतका समाग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कप्तानगञ्ज लगायतका स्थानहरूमा हाल स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगञ्जमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको छ ।’
घटनापश्चात् सुनसरीमा देखापरेको कमजोर शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ ।




प्रतिक्रिया