विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन् ।
मुख्यमन्त्री कार्कीले सोमबार अपराह्न प्रेस विज्ञप्ति जारी गर्दै घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
उनले यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिक अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ । यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा सम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीति दल, जनप्रतिनिधि र सञ्चारकर्मीमा हार्दिक अनुरोध गर्दछु ।’
कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेको साथमा रहेको विश्वास दिलाउँदै उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्ध रहेको बताए । उनले नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाई जनताको जीउधनको रक्षा गर्न अनुरोध गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो दु:ख एवं हार्दिक समवेदना व्यक्त गरेका छन् ।




प्रतिक्रिया