आज देशभरका सबै अस्पतालमा ओपिडी सेवा बन्द

आज देशभरका सबै अस्पतालमा ओपिडी सेवा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहारको विरोध गर्दै नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गर्ने घोषणा गरेको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हो ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

विज्ञप्तिमा ‘टाउकोमा गम्भीर चोट लागि घाइते भएका चिकित्सक डा. प्रमोद राम लगायत अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीहरुलाई अविलम्ब पक्राउ गरी “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ (पहिलो संशोधन, २०७९)” बमोजिम कडा कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ । साथै चिकित्सकहरुको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारवाही गर्न माग गर्दछौं ।’ भनिएकाे छ ।

यस्तै,’ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि राज्यले गरेको दमनको विरोध स्वरुप मिति २०८३-०४-१२ गते मंगलवारका दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्दछौं ।’ भनिएकाे छ ।