सुनसरी घटनामा राजनीतिकरण नगर्न रास्वपाको आग्रह, सभापति रविको विशेष निर्देशन

सुनसरी घटनामा राजनीतिकरण नगर्न रास्वपाको आग्रह, सभापति रविको विशेष निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको संवेदनशील घटनाको निष्पक्ष, स्वतन्त्र र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

पार्टी सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरिएको छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

रास्वपाले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, सामाजिक सद्भाव र सहिष्णुतालाई कमजोर पार्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको छ । पार्टीले अफवाह र उत्तेजनाको पछि नलागी उच्च संयमता अपनाउन पनि अपिल गरेको छ ।

विज्ञप्तिमा वर्तमान परिस्थितिलाई सामान्य बनाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको उल्लेख गर्दै घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न तथा पीडित पक्षलाई उचित राहत, क्षतिपूर्ति र नि:शुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने जनाएको छ । पार्टीका स्थानीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन पनि दिइएको छ ।