डीआईजी शाहको नेतृत्वमा एपीएफ इन्टेलिजेन्स ब्युरो सक्रिय, लागूऔषध कारोबारविरुद्ध आक्रामक

डीआईजी शाहको नेतृत्वमा एपीएफ इन्टेलिजेन्स ब्युरो सक्रिय, लागूऔषध कारोबारविरुद्ध आक्रामक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल इन्टेलिजेन्स ब्युरोले काठमाण्डु उपत्यकामा लागूऔषध ट्रामाडोलको अवैध कारोबारमा संलग्न गिरोहमाथि कारबाही गर्दै ठूलो परिमाणमा लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

डीआईजी दिपेन्द्र शाहको नेतृत्वमा सञ्चालन गरिएको विशेष अपरेसनअन्तर्गत भारतबाट नेपालका विभिन्न सीमावर्ती क्षेत्र हुँदै काठमाण्डुमा ठूलो परिमाणमा ट्रामाडोल भित्र्याउने ‘केजीएफ–२’ गिरोह सक्रिय रहेको विशेष सूचनाका आधारमा ब्युरोले अनुसन्धान अघि बढाएको थियो ।

यस क्रममा डीएसपी सुवर्ण थापा र इन्स्पेक्टर रवीन्द्र भट्ट नेतृत्वको टोलीले मंगलबार साँझ ७:२० बजे काठमाण्डु महानगरपालिका–१४ गाङखेल क्षेत्रमा छापा मारेर लागूऔषध ओसारपसार तथा बिक्री–वितरणमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी घर भएका २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्लाको कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगाको मानेभञ्ज्याङ–५ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्ने २४ वर्षीय दिपक राई रहेका छन् ।

उनीहरूको साथबाट ट्रामाडोलका १२ हजार फाइल (१ लाख २० हजार क्याप्सुल), बा च ७०१७ नम्बरको टाटा कम्पनीको सवारी, बागमती प्रदेश १–०२–०६५ प ४४८९ नम्बरको ट्रायम्फ बुलेट मोटरसाइकल, ३ थान एन्ड्रोइड मोबाइल, १ हजार ७४५ नगद, १ थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा १ थान सवारीको ब्लुबुक बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सशस्त्र प्रहरी बलको सम्बन्धित इकाइ रेजिमेन्ट बेस बलम्बुलाई बुझाइएको जनाइएको छ ।

प्रहरीका अनुसार भारतबाट नेपाल हुँदै राजधानीमा लागूऔषधको आपूर्ति गर्ने सञ्जालमाथिको अनुसन्धान अझै जारी छ ।